मुख्य समाचार

जनकल्याण मावि सिमपानीमा होस्टेल व्यवस्थापन र शिक्षकको आचरणबारे विवाद, विद्यार्थीद्वारा तालाबन्दी

जनकल्याण मावि सिमपानीमा होस्टेल व्यवस्थापन र शिक्षकको आचरणबारे विवाद, विद्यार्थीद्वारा तालाबन्दी

रोल्पा,/ रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ स्थित जनकल्याण माध्यमिक विद्यालय सिमपानीमा होस्टेल व्यवस्थापनको विषयलाई लिएर विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका छन्।विद्यार्थीहरूको आरोप अनुसार शिक्षकहरू मदिरा सेवन गरी विद्यालयमा उपस्थित भई विद्यार्थीहरूसँग बसेर कुराकानी गर्ने क्रममा केही शिक्षक–शिक्षिकामाथि व्यक्तिगत रूपमा आक्षेप लगाउने व्यवहार देखिएको बताइएको छ । साथै, पढाइका क्रममा शिक्षकले नतिजाका आधारमा पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने विद्यार्थीहरूलाई मात्र प्राथमिकता दिई अन्य विद्यार्थीलाई बेवास्ता गर्ने बताएपछि विद्यार्थीहरू आक्रोशित बनेका हुन्।विद्यार्थीहरूले दिएको जानकारी अनुसार गएराति करिब एक शिक्षक छात्रा विद्यार्थीहरूको कोठामा पुगेर ढोका घचघच्याएको आरोप लगाइएको छ। उक्त विषयमा शिक्षकले भने विद्यार्थीहरू सुतेका छन् कि छैनन्, पढेका छन कि छैनन् भनेर जाँच गर्न गएको प्रतिक्रिया दिएका छन्। तर छात्र विद्यार्थीहरूले भने शिक्षक छात्रा विद्यार्थीहरूको कोठामा मात्र गएको र आफ्नो कोठामा जाँच गर्न नआएको आरोप लगाएका छन्। यसैगरी, छात्रा विद्यार्थीहरूले शिक्षकले ढोका घचघच्याउदै झ्यालको पर्दा खुला राख्न भनेको आरोपसमेत लगाएका छन्। साथै, सोही रात शिक्षकले ठूलो स्वरमा स्पिकर बजाएर आफूहरूलाई डिस्टर्ब गरेको विद्यार्थीहरूको भनाइ छ।
विद्यालयको प्रधानाध्यापकले विद्यार्थीहरूलाई साँझ १० बजेसम्म पढ्ने भन्दै शिक्षकलाई जाँच गर्न सहज होस् भन्ने उद्देश्यले झ्यालहरूको पर्दा खोल्न भनेका थिए।विद्यार्थीले पढेका छन् कि छैनन् भनेर जाँच गर्नको लागि सो कुरा गरिएको शिक्षकले बताएका छन्। प्रधानाध्यापकका अनुसार विद्यार्थीहरूलाई साँझ ६ बजे नै सो कुरा गरेको बताएका छन्। विद्यालयमा स्पिकर नबजाएको तर आफूले रेडियो सुनेको र बिहानै रेडियो सुन्दै विद्यार्थीहरूलाई उठाएको उहाँले बतानुभएको छ। विद्यालयका विद्यार्थीहरूले आफैँ नगरेको तर बाहिरबाट दुई चारजनाले विद्यार्थीलाई उचालेको र यसो गर्न उक्साएको बताएका छन्। 
विद्यालयमा राम्रो काम गर्छौ भन्दाभन्दै पनी नराम्रो सन्देश आएपछि नैतिकताको हिसाबले  प्रधानाध्यापक र सहायक प्रधानाध्यापकले राजीनामा दिएको प्रधानाध्यापक खिमलाल घर्तीले बताएका छन्। 
विद्यार्थीहरूले आफूलाई अनुशासन सिकाउने शिक्षकबाट नै अनुशासन उल्लङ्घन भएको भन्दै विद्यालयभित्र शिक्षकहरूलाई राखी बाहिरबाट तालाबन्दी गरेका थिए। तालाबन्दीपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी, अभिभावक तथा प्रहरी प्रशासनको उपस्थितिमा छलफल गरिएको थियो।छलफलका क्रममा विद्यार्थीहरूले नैतिकताको आधारमा विद्यालयका प्रधानाध्यापक र सहायक प्रधानाध्यापकले राजीनामा दिनुपर्ने माग राखेका थिए। उक्त मागपछि विद्यालयका प्रधानाध्यापक खिमलाल घर्ती र सहायक प्रधानाध्यापक असिम राणाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने मौखिक घोषणा गरेका छन्। छलफलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अर्को बैठक नबस्दासम्म प्रधानाध्यापक र सहायक प्रधानाध्यापकको राजीनामा लागू नहुने स्पष्ट पारेका छन्। विद्यालय व्यवस्थापन समितिको बैठकपछि थप निर्णय गरिने र नयाँ प्रधानाध्यापक नियुक्त नहुँदासम्म हालकै प्रधानाध्यापकले विद्यालय सञ्चालन गर्ने बताइएको छ।विद्यालय व्यवस्थापन समितिको बैठक भोलि बस्ने जनाइएको छ। छलफलपछि विद्यार्थीहरूले सहज रूपमा विद्यालयको तालाबन्दी खोलेका छन्।

९५७ पटक हेरीएको

सम्बन्धित समाचार