मुख्य समाचार

प्रधानमन्त्री दाहालको युगाण्डामा रहेका नेपालीसँग कुराकानी

प्रधानमन्त्री दाहालको युगाण्डामा रहेका नेपालीसँग कुराकानी

५ माघ, काठमाडौं । असंलग्न आन्दोलन (एनएएम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन बिहीबार साँझ युगाण्डाको कम्पालामा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगाण्डामा रहेका नेपाली डायस्पोरा समुदायसँग भेटवार्ता गरेका छन् ।

प्रवासी नेपाली समुदायसँग भेटघाटपछि प्रधानमन्त्री दाहालले त्यहाँका नेपालीसँग भेटघाट र अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुसी लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको समस्यालाई सम्बोधन नगरी मुलुकले प्रगति गर्न नसक्ने बताए । ‘अफ्रिकी देशमा बस्ने नेपालीको पीडा बुझ्ने मौका पाएँ,’ प्रधानमन्त्रीले भने । भेटमा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीले नेपालको गैरआवासीय राजदूतका रूपमा आफ्नो सेवा गरिरहेको बताउँदै राष्ट्रको गरिमा उकास्न युगान्डामा रहेका नेपाली नागरिकलाई काम गर्न आग्रह गरे ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युगाण्डाका अध्यक्ष रमा अर्यालले युगाण्डाका नेपाली समुदायले प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको र प्रधानमन्त्रीको अभिभावकत्वको अनुभव गरेको बताए । एनआरएनए युगाण्डा च्याप्टरका संरक्षकका अनुसार युगाण्डामा करिब ३५० नेपाली कामदार र बसोबास गर्दै राष्ट्रको विकास, निर्माण र व्यापारिक समुदायमा योगदान दिइरहेका छन् । नामको शिखर सम्मेलन आजदेखि युगान्डाको राजधानी कम्पालामा सुरु भएको छ । ‘साझा विश्वव्यापी समृद्धिका लागि विश्वव्यापी सहयोगलाई प्रगाढ बनाउने’ भन्ने नाराका साथ हुन लागेको शिखर सम्मेलनलाई प्रधानमन्त्री दाहालले आज नै सम्बोधन गर्ने कार्यक्रम छ । १९औँ नाम शिखर सम्मेलनमा मन्त्रिस्तरीय प्रतिवेदन, १८औँ नाम शिखर सम्मेलनको कार्यान्वयन स्थितिको समीक्षा र कम्पाला घोषणा पारित गर्ने बताइएको छ । नेपाल एनएएम को संस्थापक सदस्य हो र १९६१ मा स्थापना भएदेखि नै एनएएम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ।

असंलग्नता नेपालको आधारभूत विदेशी सिद्धान्त मध्ये एक हो ।

१३२ पटक हेरीएको

सम्बन्धित समाचार