१० माघ, काठमाडौं । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सम्झौता गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको पुनर्संरचनाका लागि व्यवस्थापन सम्झौताका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।
प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री किरातीले भने, ‘निगमको पुनर्संरचनाको व्यवस्थापन सम्झौता गर्नुपर्ने भएकाले यो प्रणालीमा जाने तयारीमा छौं । मन्त्रालयले व्यवस्थापन सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । ‘यस एजेण्डामा छिट्टै निर्णय हुन्छ,’ उनले भने । मन्त्री किरातीले सरोकारवालाको अध्ययन र सुझावका आधारमा व्यवस्थापन सम्झौताबाट निगममा सुधार अपरिहार्य भएको तर्क गरे । व्यवस्थापन ठेक्का मोडालिटीले विभिन्न देशमा राम्रो नतिजा दिएकोले नेपालमा पनि यो मोडल उपयुक्त हुने उनको भनाइ छ ।
सो अवसरमा मन्त्री किरातीले हालको अवस्थामा निगम चलाउन नसकिने निष्कर्ष मन्त्रालयले निकालेको र संरचनागत सुधार गरी संस्थालाई सञ्चालन गर्ने योजना बनाएको बताए । सो अवसरमा सांसद उदयशम्शेर जबराले थप विमान थपेर पनि अन्तर्राष्ट्रिय बजारमा निगमको उपस्थिति बलियो बनाउनुपर्ने बताए, त्यस्तै, सांसद डा धवलशम्शेर जबराले निगमको व्यवस्थापन सम्झौता उपयुक्त भए पनि सान्दर्भिकताका आधारमा मात्र अघि बढ्नुपर्ने बताए ।
तर, सांसद प्रेम सुवालले निगमको व्यवस्थापन ठेक्काको विरोध गर्दै निगमको विद्यमान अवस्था सुधार्न सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
१८८ पटक हेरीएको