१६ माघ, काठमाडौं । विज्ञापन बोर्डले सार्वजनिक स्थलमा राखिएका बिलबोर्ड र सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारको प्रयोग गर्न नपाइने जनाएको छ ।
बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन नियमन ऐन, २०१९ सार्वजनिक भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए । विज्ञापनमा स्थानीय कलाकारको प्रयोगलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाइएको बताउँदै उनले सार्वजनिक स्थानमा राखिएका होर्डिङ तथा सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारको प्रयोग गर्न नपाइने बताए । ऐन कार्यान्वयनको क्रममा विज्ञापनलाई नियमन गर्ने नियमावली (पहिलो संशोधन, २०८०) र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी आचारसंहिता, २०७९ जारी गरी कार्यान्वयनमा आएको छ ।
आचारसंहिताले विज्ञापनमा सहभागी हुँदा लैङ्गिक तथा उपभोक्तामैत्री हुने, अश्लीलता र हिंसालाई प्रवर्द्धन नगर्ने, अफवाह फैलाउनबाट जोगिन, राष्ट्रिय एकता र स्वाधीनतामा खलल पु¥याउने र कानूनद्वारा निषेधित वस्तु तथा सेवाको समर्थन नगर्ने उल्लेख छ । अध्यक्ष हुमागाईले पालना नगरे कानुनी कारबाही हुने भएकाले सचेत रहन आग्रह गरेका छन् । उनले यस विषयमा छिट्टै सामाजिक सञ्जाल व्यवस्थापन ऐन मार्फत उपयुक्त व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवा केसीले होर्डिङ बोर्ड र अन्य विज्ञापनमा नेपाली कलाकारको सहभागिता अनिवार्य हुनुपर्ने बताए । जानीजानी वा नजानी कानून विपरीत हुने विज्ञापनमा अभिनय गर्दा कलाकारले समस्या भोग्नुपरेको पनि उनले बताए ।
१५० पटक हेरीएको