लोकेन्द्र के:सी🖋️
रोल्पा जिल्लाको थबाङ गाउँपालिका–३ मिरुल जायचौरस्थित नेपाल टेलिकमको टावर विगत तीन वर्षदेखि प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन।
स्थानीयहरूले धेरै संघर्ष गरेर करिब ४–५ महिना अघि मात्र टावरमा विद्युत् जडान गरेका हुन्। यो विद्युत् जडान नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त पहलबाट गरिएको हो।
तर, विद्युत् जडान भए पनि नेटवर्क समस्या अझै यथावत् छ र सेवा नियमित रूपमा सञ्चालनमा छैन। टावर सुरुमा सोलार प्रणालीबाट चलिरहेको भए पनि अहिले नियमित बिजुली जडान भएको अवस्थामा पनि नेटवर्क सेवा निरन्तर नचलेको कारण स्थानीयहरूले गम्भीर समस्या भोगिरहेका छन्।
साँझपख, पानी परेको बेला र कहिलेकाहीँ दिउँसो पनि नेटवर्क अवरुद्ध हुने समस्या हुँदा स्थानीय बासिन्दा मात्र होइन, वडास्तरका सरकारी कामकाजसमेत प्रभावित भएका छन्।
स्थानीय सरकारले सूचना आदानप्रदान, नागरिक सेवा तथा आकस्मिक अवस्था व्यवस्थापनमा गम्भीर चुनौती रहेको जनाएको छ।
यस विषयमा सोधपुछ गर्दा नेपाल टेलिकम रोल्पाका प्रमुख कैलाश आचार्यले प्राविधिक जिम्मेवारी दाङ तुलसीपुर कार्यालयले हेर्ने जानकारी दिएका छन्। त्यसपछि दाङ तुलसीपुर कार्यालयमा सम्पर्क गर्दा ‘सिस्टम हेरेर कल गर्छौँ’ भनी जवाफ आएको भए पनि अहिलेसम्म कुनै प्रतिक्रिया वा समस्या समाधान भएको छैन।
स्थानीयहरूले गुनासो गर्दै भने, “हामीले धेरै संघर्ष गरेर बिजुली त ल्यायौं, तर नेटवर्क सेवा नचलेका कारण अझै धेरै असुविधा भोग्नुपरेको छ।
एक स्थानीयले भने, “मोबाइल नेटवर्क नहुँदा आफन्त र विदेश गएको छोराछोरीको खबर पाउन सकिरहेका छैनौं।
अर्का स्थानीयले भने, “कुनै महत्त्वपूर्ण काम हुँदा वा सूचना पठाउन खोज्दा नेटवर्क नहुँदा समस्या भोग्नुपर्छ।”
स्थानीय व्यवसायीले भने, “व्यापारका लागि फोन गर्न खोज्दा नेटवर्क नहुँदा धेरै समस्या भोग्नुपरेको छ। यो समस्या कहिलेसम्म समाधान गरिने हो?
साथै, स्थानीयहरूले भने, “नेटवर्क नहुँदा पत्रकारहरूलाई समेत महत्त्वपूर्ण सूचना पठाउन र प्राप्त गर्न निकै असहज भएको छ।
विद्युत् जडान भइसके पनि नेपाल टेलिकमको ध्यान नपुगेको भन्दै स्थानीयहरू असन्तुष्ट छन्। मोबाइल सेवा नहुँदा महत्त्वपूर्ण सूचना प्राप्त र पठाउन, विदेश गएका आफन्तसँग सम्पर्क गर्न, व्यवसायीहरूले समयमै सामान खरिदबिक्री र मोबाइल बैंकिङ गर्न, साथै विद्यार्थीहरूको अनलाइन पढाइसमेत प्रभावित भएको छ।
४८९ पटक हेरीएको