अन्तराष्ट्रिय

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति पत्रकार महासंघको आपत्ति

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं, नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले यस्तो निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन हुने भन्दै तत्काल फिर्ता लिन माग गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गर्ने निर्णय गरेपछि महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो। महासंघले विकल्पविहीन रूपमा सामाजिक सञ्जाल बन्द गर्दा नागरिकको सूचनाको हकसमेत प्रभावित हुने ठहर गर्दै आश्चर्य प्रकट गरेको छ।

महासंघले सामाजिक सञ्जाल नियमनको पक्षमा आफूहरू रहँदै आएको तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्ने गरी कुनै माध्यम नियन्त्रण गर्ने कदम अस्वीकार्य हुने स्पष्ट पारेको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन जोडदार माग गर्दछौं।”

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद र मन्त्रालयको निर्णयका आधारमा नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ।

प्राधिकरणले फेसबुक, युट्युब, व्हाट्सएप, ट्विटर (एक्स), इन्स्टाग्राम, टेलिग्राम, स्न्यापच्याट, टिकटोक, रुम्बल, क्लबहाउस, लिंक्डइन, थ्रेड्स, डिस्कोर्ड, पिनटेरेस्ट, सिग्नललगायत सामाजिक सञ्जाल सेवा बिहीबारदेखि बन्द गरिने उल्लेख गरेको छ।

३१८ पटक हेरीएको

सम्बन्धित समाचार