काठमाडौँ, सोमबार राजधानीको माइतीघर मण्डलाबाट सुरु भएको जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शन दिनभरमा हिंसात्मक मोड लिँदै संसद भवन परिसरसम्म पुग्दा आक्रामक रूप लिएको छ।
भ्रष्टाचार, बेथिति र ‘नेपो बेबी’ विरुद्ध खबरदारी गर्न सडकमा उत्रिएका युवाहरू बिहानैदेखि आ–आफ्नै ब्यानरसहित माइतीघरमा जम्मा भएका थिए। उनीहरूले राष्ट्रिय गीत गाएर, बाजागाजा र शंखध्वनिसहितको जुलुसमार्फत रचनात्मक ढंगले आफ्नो आवाज बुलन्द गरेका थिए। प्रारम्भिक चरणमा आन्दोलन निकै संयमित र शालीन देखिएको थियो।
नयाँ बानेश्वर पुगेर प्रहरीसँग आमनेसामने भएपछि भने स्थिति बिग्रियो। प्रहरीले ब्यारिगेटमार्फत जुलुस रोक्ने प्रयास गर्दा भिडले त्यसलाई हटायो। त्यसपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्यो। तर, गोली चलेको समाचार सार्वजनिक भएपछि भिड थप आक्रोशित हुँदै अनियन्त्रित बन्यो।
आक्रोशित युवाहरूले संसद भवनलाई लक्षित गर्दै ढुंगा–मुढा तथा बोतल प्रहार गरे। केहीले पर्खाल भत्काउने र रेलिङ तोडेर परिसरभित्र छिर्ने प्रयाससमेत गरे। संसद भवन नजिकैका सुकेका पातमा आगोसमेत बालियो। सुरक्षाकर्मीले गोली चलाएपछि केही युवाहरू घाइते भए र भिड केहीबेर छरपष्ट भए पनि पुनः एकताबद्ध हुँदै आक्रामक बने।
नेतृत्वविहीनताका कारण भिडलाई कसरी अघि बढाउने भन्नेबारे स्पष्टता नहुँदा कोही त्रसित भएर भाग्ने र कोही ढुंगामुढा गर्ने अवस्था सिर्जना भएको देखियो। यसले प्रहरीलाई अझ कडा बल प्रयोग गर्न प्रेरित गर्यो।
आन्दोलनमा सहभागी एक विद्यार्थीले भने, “हामी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका हौँ, सरकारी सम्पत्ति तोडफोड वा संसद भवन जलाउने हाम्रो योजना थिएन।” त्यस्तै अर्की सहभागी सीमा बमले भनिन्, “हाम्रो उद्देश्य व्यवस्था परिवर्तन होइन, नेताहरूलाई खबरदारी गर्ने मात्र थियो, तर परिस्थितिले आन्दोलन हिंसात्मक मोड लियो।”
यसरी, जेनजी पुस्ताको शान्तिपूर्ण खबरदारी आन्दोलन अपरिपक्व व्यवस्थापन, नेतृत्वको अभाव र प्रहरीसँगको आमनेसामनेपछि हिंसात्मक रूप लिँदै नियन्त्रण बाहिर गएको देखियो।
३०२ पटक हेरीएको