मुख्य समाचार

परिवर्तन गाउँपालिकामा विद्यालय बन्द गरी मेला, पालिकाको निर्णयमाथि अभिभावक आक्रोश

परिवर्तन गाउँपालिकामा विद्यालय बन्द गरी मेला, पालिकाको निर्णयमाथि अभिभावक आक्रोश

रोल्पा – परीक्षा नजिकिँदै गरेको संवेदनशील समयमा विद्यालय बन्द गरी मेला सञ्चालन गरिएको घटनाप्रति अभिभावक र स्थानीयहरूले कडा आपत्ति जनाएका छन्। परिवर्तन गाउँपालिका–४ मा रहेको जलजला युवा क्लबले मङ्सिर ८ देखि ११ गतेसम्म विद्यालयको प्राङ्गणमै मेला आयोजना गर्दै चार दिनसम्म विद्यालय नै बन्द गराएको हो।

अभिभावकहरूका अनुसार विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुने गरी कुनै पनि वैधानिक आधारबिना विद्यालय बन्द गरिनु गम्भीर लापरबाही हो। “परीक्षा आउन लाग्दा किन विद्यालय बन्द हुन्छ? विद्यार्थीको भविष्यसँग खेल्ने अधिकार कसैले पाउँदैन,” एक अभिभावकले आक्रोश व्यक्त गरे।

यसअघि पनि माडी गाउँपालिका–५, भावाङ विद्यालयमै मेला सञ्चालन हुँदा स्थानीय र सामाजिक क्षेत्रबाट व्यापक आलोचना भएको थियो। यस्ता घटनाले शैक्षिक वातावरण कमजोर बनाउँदै लगेका अभिभावकको भनाइ छ।

यता, ट्युशनका नाममा निजी तथा सामुदायिक विद्यालयहरूले विद्यार्थीबाट मनपरी शुल्क असुल्दै आएको गुनासो पनि अभिभावकहरूले जोडेर उठाएका छन्। “एकातिर विद्यालय अनावश्यक रूपमा बन्द, अर्कोतिर ट्युशन शुल्कको चर्को भार—यसले विद्यार्थी र अभिभावक दुवै शोषित भएका छन्,” उनीहरूको भनाइ छ।

अभिभावकहरूको कडा प्रश्न छ—“कुन कानुनी आधारमा विद्यालय बन्द गरेर मेला चलाउन अनुमति दिइयो? विद्यार्थीको भविष्यसँग खेलवाड किन भइरहेको छ?”

स्थानीयहरूका अनुसार पालिकाले यसबारे स्पष्ट जवाफ दिनु पर्ने र भविष्यमा यस्ता गतिविधि रोक्न ठोस नीति बनाउनुपर्ने माग जोरदार रूपमा उठेको छ।

४४५ पटक हेरीएको

सम्बन्धित समाचार