मुख्य समाचार

परिवर्तन गाउँपालिकाको लुगा बैंकप्रति स्थानीय असन्तुष्टि

परिवर्तन गाउँपालिकाको लुगा बैंकप्रति स्थानीय असन्तुष्टि

रोल्पा, रोल्पाकाे परिवर्तन गाउँपालिकाले सञ्चालनमा ल्याएको लुगा बैंक कार्यक्रमप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। लुगा बैंक स्थापनाका लागि करिब तीन लाख पाँच हजार रुपैयाँ खर्च गरिएको भन्दै उक्त बजेट अन्य अत्यावश्यक क्षेत्रमा प्रयोग गरिएको भए उचित हुने स्थानीयको धारणा छ।

स्थानीयवासीका अनुसार गाउँपालिकामा अझै पनि आधारभूत सेवा अभाव छ। एक स्थानीयले भने,“गाउँपालिकामा गम्भीर बिरामी परे तत्काल लैजान एम्बुलेन्सको व्यवस्था छैन। यस्तो अवस्थामा लुगा बैंकभन्दा पहिले स्वास्थ्य सेवा र एम्बुलेन्सको प्रबन्ध हुनुपर्थ्यो।”

अर्का एक स्थानीयले स्वास्थ्य चौकीको अवस्थाप्रति गुनासो गर्दै भने, “अहिले पनि स्वास्थ्य चौकीमा सामान्य औषधिसमेत उपलब्ध छैन। यस्ता आधारभूत समस्या हुँदाहुँदै पालिकाको प्राथमिकता गलत दिशातर्फ गएको देखिन्छ।”

स्थानीयवासीका अनुसार परिवर्तन गाउँपालिकामा स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन। यस्तो अवस्थामा ती क्षेत्रलाई प्राथमिकतामा नराखी अन्य कार्यक्रममा बजेट खर्च गर्नु उपयुक्त नभएको उनीहरूको भनाइ छ।

यस विषयमा परिवर्तन गाउँपालिकाको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

५१७ पटक हेरीएको

सम्बन्धित समाचार