मुख्य समाचार

सीएनआईका अध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

सीएनआईका अध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

२० भदौ, काठमाडौं । नेपालका लागि चीनका राजदूत चेन सोङ र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालबीच मंगलबार भेटवार्ता गरी नेपाल र चीनबीचको द्विपक्षीय लगानी र व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्ने विषयमा छलफल भएको हो ।

भेटमा सिएनआइका अध्यक्ष अग्रवालले पूर्वाधार विकासका क्षेत्रमा नेपाल–चीन सहकार्य अत्यावश्यक रहेको बताउँदै चीन नेपालको प्रमुख विकास साझेदार भएको बताए ।

त्यसैगरी अग्रवालले चिनियाँ राजदूतलाई प्रविधि हस्तान्तरण, सीप विकास र पर्यटन क्षेत्रमा लगानी र सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरे ।

सीएनआईका अध्यक्षले चिनियाँ राजदूतलाई इ–कमर्समार्फत चिनियाँ बजारमा नेपाली सामान निकासी गर्न नेपाली व्यापारी समुदायसँग सहकार्य गर्न पनि आग्रह गरे ।

साथै चिनियाँ राजदूत सोङलाई सीएनआई र चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को सहकार्यमा नेपालमा देखिने काम गर्न आग्रह गरिएको थियो ।

सो अवसरमा राजदूत सोङले जलविद्युत् उत्पादनलगायत राष्ट्रिय स्रोतको उपयोगबाट नेपालले विकास गर्न सकिने सुझाव दिँदै दीर्घकालीन विकास रणनीति आवश्यक रहेको बताए ।

नेपालको आयातलाई विद्युतको उपयोग बढाएर प्रतिस्थापन गर्न सकिने उनको धारणा थियो ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी चीन भ्रमणलगायतका विषयमा पनि छलफल भएको थियो ।

१९२ पटक हेरीएको

सम्बन्धित समाचार