बैँक / वित्त

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास

२६ भदौ, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा निर्माण हुन लागेको देशकै ठूलो जलविद्युत् आयोजनाको मंगलबार शिलान्यास गरिएको छ ।

कोरियाली कम्पनीको एफडीआईमा स्वदेशी उपभोगका लागि निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको आयोजनाको ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका हुन् ।

आयोजनाको बाँध र भौतिक संरचना अमछोडिङमो गाउँपालिका–१ हाकु गाउँमा र भूमिगत विद्युतगृह रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा रहेको छ ।

शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले सरकारले अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्तालाई लोभ्याउन र जलविद्युत् आयोजनामार्फत मुलुकमा आर्थिक समृद्धि ल्याउन लगानीमैत्री वातावरण सिर्जना गरिरहेको बताए ।

परियोजनाको मुख्य लगानीकर्ता कोरियाको दक्षिण-पूर्वी पावर हो।

साउथ–इस्ट पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हाउ चुन किमले आयोजनाको विकासले छिमेकी मुलुकमा अतिरिक्त विद्युत् निर्यात गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गरी आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सन् २०२० मा आयोजनाको विकास सुरु भएको र हालसम्म आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ ।

आयोजनाको बाँध निर्माणको काम मनसुन सकिएपछि सुरु हुनेछ ।

आयोजनाको कुल लागत ६४७.३ मिलियन अमेरिकी डलर अनुमान गरिएको छ र नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५३.२ मिलियन अमेरिकी डलर लगानी गर्न सहमत भएका छन् । बाँकी रकम इक्विटी मार्फत व्यवस्थापन गरिनेछ।

१४० पटक हेरीएको

सम्बन्धित समाचार