१८ पौष, काठमाडौं । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताए–योङसँग सरकारले द्विपक्षीय सम्झौता बमोजिम नेपाली नागरिकलाई कोरियामा काम गर्न दिने रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको भाषा परीक्षाको मापदण्डबारे छलफल गरेको छ ।
कोरियाली भाषा परीक्षाको योग्यताको विषयमा भएको विरोधका क्रममा दुई जनाको ज्यान गएको घटनापछि छलफल भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र नेपालका लागि कोरियाली राजदूत पार्कबीच आज मन्त्रालयमा छलफल भएको हो । बैठकमा यसअघि जहाज निर्माणमा सहभागी नेपाली युवालाई उत्पादनमूलक क्षेत्रमा फारम भर्न दिने सरकार र अदालतको निर्णयबारे कोरियाली पक्षलाई जानकारी गराइएको श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले जानकारी दिए । नेपालले राखेको प्रस्तावलाई कोरियाली पक्षले सकारात्मक रुपमा लिएको छ । पोखरेलले ईपीएस प्रणालीमा देखिएका विभिन्न समस्या छिट्टै दुई देशका प्राविधिक टोलीले समाधान गर्ने बताए ।
मन्त्रालयका अनुसार हाल १ लाख ७५ हजार नेपाली नागरिक कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर कामका लागि कोरिया जान पर्खिरहेका छन् । सो अवसरमा कोरियाली पक्षले गत शुक्रबार बालकुमारीमा भएको घटना दुःखद भएको भन्दै कोरिया सरकारको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।
१९३ पटक हेरीएको