२३ पौष, काठमाडौं । अवैध लागुऔषध गाँजा मिसाएर केकमा अनलाइन बिक्री गर्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौं महानगरपालिका–२९ घट्टेकुलोबाट २६ वर्षीय बिशन मानन्धरलाई पक्राउ गरेको हो । मानन्धरसहित उनीबाट बरामद गाँजा, केक र केक बनाउने सामग्री ब्युरोले आइतबार सार्वजनिक गरेको थियो ।
ब्यूरोका अनुसार मानन्धर सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘बम्ब–ओङ नेपाल’ नामक आइडी बनाएर गाँजा मिसाएर केकको कारोबारमा संलग्न थिए । ‘डार्कवेब’ को शैलीमा ‘डार्कनेट’ प्रयोग गरी राजधानीमा जन्मदिनको केकमा लागुऔषध मिसाइँदै आएको विशेष सूचना पाएपछि एनसीबीले कारबाही थालेको प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले बताए । उनले भने, “अपरेसनका क्रममा मुख्य अपराधीसम्म पुग्न निकै गाह्रो भएको थियो। साइबर ब्युरोको सहयोग लिएर अन्तत: बम्ब-ओङ आइडीका अनुयायीहरूलाई ट्रेस गर्यौं। त्यसपछि मात्र मानन्धर पत्ता लगाउन सफल भयौं।”
एसएसपी थपलियाले अनुयायीहरूबाट अर्डर प्राप्त गर्न र मुख्य बिक्रेता मानन्धरसम्म पुग्ने चुनौतीहरूको बारेमा प्रकाश पारे, यो व्यवसाय धेरै लुकेको छ। उनले भने, ‘यो शैली लागूऔषधको अन्तर्राष्ट्रिय क्षेत्रमा डार्कनेट र डार्क वेब भनेर चिनिन्छ । मानन्धर मुख्य अपराधी रहेको थाहा पाएपछि प्रहरी टोलीले घट्टेकुलोस्थित घरमा छापा मारेको थियो । खोजीका क्रममा प्रहरीले १२१ ग्राम गाँजाको धुलो, १७८ ग्राम तयारी केकको झोला, ३ केजी र ७५४ ग्राम गाँजा, केक तौलनमा प्रयोग हुने एउटा डिजिटल स्केल र केक पकाउन प्रयोग हुने विद्युतीय चुलो बरामद गरेको छ ।
मानन्धरले एक वर्षभन्दा बढी समयदेखि विभिन्न किसिमका गाँजाको केक बनाएर अनलाइन वितरण गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार उनी इन्स्टाग्रामबाट केकको अर्डर लिने गर्थे । ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले मानन्धरको गाँजाको केकका ग्राहकहरु छात्रावासमा बस्ने विद्यार्थी र किशोरकिशोरी रहेको बताए ।
१५७ पटक हेरीएको