७ माघ, काठमाडौं । सरकारले सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परियारलाई महानगर पठाउने निर्णय गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी मधेसी आयोगमा सरुवा भएका छन् । पछिल्लो समय कामपाका मेयर बालेन्द्र शाह (बालेन) र अधिकारीबीचको सम्बन्ध बिग्रिएको थियो । शाह जसरी भए पनि अधिकारीलाई महानगरबाट सरुवा गर्न चाहन्थे । अधिकारीको सरुवा गर्न उनलाई बिदा दिइएको हो । महानगरपालिकाअन्तर्गतको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्तिसम्बन्धी कार्यपालिकाले गरेको निर्णयमा अधिकारीले छेडछाड गरेको आरोप लागेको छ । घटनापछि शाहले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर अधिकारीलाई तत्काल पक्राउ गर्न आग्रह गरेका थिए ।
अधिकारीले शाहको सचिवालयमा कार्यरत भगवती विडारीकी छोरीलाई जागिर दिने कार्यकारी निर्णय गरेका हुन् । यस घटनामा मेयर शाहले निजी सचिव नुरनिधि न्यौपाने, वरिष्ठ अधिकृत भगवती विडारी र स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेललाई निलम्बन गरेका छन् । कार्यपालिकाले गरेको निर्णयबारे सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीको संयोजकत्वमा शाहले तीन सदस्यीय छानबिन समिति गठन गरेका छन् ।
१७६ पटक हेरीएको