१४ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसंघर्षबाट प्राप्त परिवर्तनलाई जोगाउन माओवादी शक्तिबीचको एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)को मुख्यालय पेरिसडाँडामा आज भएको शहीद फाउण्डेशन नेपालको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशभरका माओवादी आन्दोलनका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे । जनयुद्धका शहीद, बेपत्ता र घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितको पुनः वर्गीकरणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । फाउन्डेसनका संरक्षक समेत रहेका दाहालले फाउन्डेसनले सञ्चालित विद्यालयको जिम्मेवारी राज्यले लिने आश्वासन दिएका छन्, उनले संसदमा प्रस्तुत विद्यालय शिक्षा विधेयकले पनि यस्ता विद्यालयलाई समेटेको बताए । पार्टी र यसको नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासम्म पुर्याउन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले वर्तमान सरकारले सुरु गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको बताए । प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको बाँकी काम छिट्टै पूरा गर्न सरकार लागिपरेको बताउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिबाट टुंग्याउने विश्वास व्यक्त गरे । पार्टीका उपमहासचिव एवम् पूर्वमन्त्री जनार्दन शर्माले देशको परिवर्तनका लागि जीवन आहुति दिने शहीदको सपना पूरा गर्न नेतृत्व र पार्टीका सम्पूर्ण तह र संयन्त्र कटिबद्ध हुनुपर्नेमा जोड दिए ।
फाउन्डेसनका अध्यक्ष धर्मशिला चापागाईले फाउन्डेसनलाई एकताको केन्द्रका रुपमा विकास गरिने बताइन् ।
१५६ पटक हेरीएको