रोल्पा — परिवर्तन गाउँपालिका–४, पाछाबाङस्थित एक विद्यालय चार दिनका लागि बन्द गरी परम्परागत मेला सञ्चालन गरिएको घटनाले स्थानीयस्तरमा तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ। जलजला युवा क्लबले परम्परादेखि लाग्दै आएको राक्सेबाङ मेला तथा आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा मंसिर ८ देखि ११ गतेसम्म विद्यालयको प्राङ्गण प्रयोग गरेपछि कक्षा स्थगित भएको हो।
परीक्षा नजिकिएको संवेदनशील अवस्थामा विद्यालय बन्द गरिनु शैक्षिक सत्रमै प्रत्यक्ष प्रभाव पार्ने गम्भीर लापरबाही भएको अभिभावकहरूको आरोप छ। “विद्यार्थीको भविष्यसँग खेल्न कसैले अधिकार राख्दैन। परीक्षा आउनै लागेको बेला विद्यालय किन बन्द हुन्छ?” एक अभिभावकले आक्रोश व्यक्त गरे।
क्लब र पालिकाको स्पष्टीकरण
विवाद उठेपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी प्रतिनिधि, स्थानीय बासिन्दा तथा जलजला युवा क्लबबीच सर्वदलीय छलफल भएको र सोही सहमतिअनुसार स्थानीय बिदा मिलाएर विद्यालय बन्द गरिएको क्लबले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेको छ। क्लबका अनुसार राक्सेबाङ मेला परम्परादेखि सञ्चालन हुँदै आएको सांस्कृतिक पर्व भएकाले विद्यालयको प्राङ्गण प्रयोग गर्ने निर्णय सामूहिक सहमतिमा गरिएको हो।
मेलामा यस वर्ष खेलकुद प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, पैसाहरू नाच, मयूर नाच तथा स्थानीय उत्पादनहरूको बिक्री–वितरणसमेत समावेश गरिएको क्लबले जनाएको छ।
अघिल्ला विवाद पनि दोहोरियो
यसअघि माडी गाउँपालिका–५, भावाङस्थित विद्यालयमै मेला आयोजना गर्दा पनि स्थानीय तथा सामाजिक क्षेत्रमा व्यापक आलोचना भएको थियो। अभिभावकहरूले यस्ता गतिविधिले शैक्षिक वातावरण कमजोर बनाइरहेको भन्दै निरन्तर आपत्ति जनाउदै आएका छन्।
ट्युशन शुल्कको मनपरीप्रति असन्तोष
अभिभावकहरूले विद्यालय बन्द मात्र नभई ट्युशनका नाममा निजी तथा सामुदायिक विद्यालयहरूले मनपरी शुल्क असुलेर विद्यार्थी तथा अभिभावकलाई अतिरिक्त आर्थिक दबाब सिर्जना गरेको आरोप पनि लगाएका छन्। “एकातिर विद्यालय अनावश्यक बन्द, अर्कोतिर ट्युशन शुल्कको दोहोरो चाप — अभिभावक र विद्यार्थी दुवै शोषित हुन थालेका छन्,” उनीहरूको भनाइ छ।
अभिभावकका मुख्य प्रश्न
अभिभावकहरूले परिवर्तन गाउँपालिकासमक्ष केही निर्णायक प्रश्न उठाएका छन्—
*स्थानीय बिदा मिलाइएको सूचना अभिभावकलाई किन दिइएन?
*विद्यालय बन्द गर्न कुन कानुनी आधार प्रयोग गरियो?
*यस्ता निर्णय प्रक्रियामा पारदर्शिता किन कायम गरिँदैन?
नीतिगत स्पष्टताको माग
स्थानीयवासी तथा अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण प्रभावित हुने गतिविधिमा पालिकाले स्पष्ट नीति बनाउनुपर्ने, अभिभावकलाई समयमै जानकारी दिने व्यवस्था मिलाउनुपर्ने तथा यस्ता विवाद पुनः नदोहोरोस्न कडाइका साथ नियमन गर्नुपर्ने माग गरेका छन्।
शिक्षा शाखाको प्रतिक्रिया
परिवर्तन गाउँपालिकाको शिक्षा शाखाले विद्यालय बन्द गरी मेला सञ्चालन गरिएको विषयमा आफूहरू स्पष्ट खबर नपाएको जनाएको छ। शाखाका अनुसार विद्यालयका जिम्मेवारसँग विषयबस्तु स्पष्ट गरिनेछ।
यस्तै, ट्युशन शुल्कका नाममा चर्को रकम असुलिएको गुनासोबारे शिक्षा शाखाले जानकारी नभएको बताउँदै स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर बैठक बसेर शुल्क सम्बन्धी अनियमितता नियमन गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ।
विद्यालय बन्द र ट्युशन शुल्कसम्बन्धी विवादसँगै स्थानीय शैक्षिक वातावरणको व्यवस्थापन र पालिकाको भूमिका पुनः प्रश्न चिह्नमुनि परेको छ।
३४९ पटक हेरीएको