रोल्पा, रोल्पाको रुन्टिगढी गाउँपालिका–५, जस्पुरमा श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ।
मिति २०८२/०९/०५ गते दिउँसो करिब ३:३० बजेको समयमा स्थानीय ४८ वर्षीय अमराज दमाईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ५२ वर्षीया रिमा दमाईलाई कुटपिट गरेको भन्ने सूचना साँझ १८:०० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मानेश थापाको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।
कुटपिटबाट गम्भीर घाइते भएकी रिमा दमाईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी, रोल्पा पठाइएको थियो। उपचारको क्रममा उनी अचेत अवस्थामा रहेकी र बोल्न नसक्ने अवस्थामा थिइन्। तर मिति २०८२/०९/०५ गते साँझ ६:४५ बजे स्वास्थ्य केन्द्रका चिकित्सकले जाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका हुन्।
कुटपिट गर्ने अमराज दमाई हाल इलाका प्रहरी कार्यालय होलेरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ।
४५३ पटक हेरीएको
टेक मगर