रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । शुक्रबार आयोजित एक समारोहका बीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगर को सभाध्यक्षता तथा जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख एवं खोप समन्वय समितिका सह–संयोजक कर्मलाल परियार को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बाँठा मगरले खोप उमेर समूहका सबै बालबालिकाले नियमित तथा पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको बताउनुभयो । उहाँले त्रिवेणी गाउँपालिका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सधैं अग्रस्थानमा रहेको उल्लेख गर्दै स्वस्थ नागरिक निर्माणका लागि बालबालिकालाई पूर्ण खोप दिनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
“देशका सक्षम नागरिक बनाउन स्वस्थ जनशक्ति आवश्यक हुन्छ । त्यसैले हामीले सबै खोप उमेर समूहका बालबालिकालाई खोप सुनिश्चित गरेका छौँ,” उहाँले भन्नुभयो । साथै, खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
जन्मेदेखि १५ महिनामुनिका तथा १६ देखि २३ महिनासम्मका बालबालिकालाई दिइने १५ प्रकारका खोप सुनिश्चित भएपछि प्रत्येक वर्ष पालिकालाई पूर्णखोप घोषणा गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको जनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि परियारले त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउँदै आगामी दिनमा पनि समन्वय र सहकार्यमार्फत पूर्णखोप कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिनुभयो ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लेखमणी डाँगी, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कंडेल, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डिल्ली बहादुर के.सी., वडा नं. २ का वडा अध्यक्ष कविराज बुढा, वडा नं. ५ का वडा अध्यक्ष कृष्णबहादुर के.सी., वडा नं. ४ का वडा अध्यक्ष गंगा प्रशाद घर्ती लगायत स्वास्थ्य चौकी प्रमुख, राजनीतिक दलका प्रतिनिधि, महिला समूह, आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।

१३२ पटक हेरीएको