२४ भदौ, ललितपुर । तीनदिने बिपी साहित्य महोत्सव २०८० आजबाट सुरु हुँदैछ । नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीको ११०औँ जन्मजयन्तीको उपलक्ष्यमा कार्यक्रम आयोजना गर्न लागेको हो ।
नेपाली लेखक संघ र नेपाल साँस्कृतिक महासंघ लगायतको सहकार्यमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय ललितपुरको सानेपामा कार्यक्रम हुन लागेको हो ।
महोत्सवमा कविता गोष्ठी, गजल वाचन, सांगीतिक प्रस्तुति, कला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र तस्विर प्रदर्शनी रहेका छन् । महोत्सवको उद्घाटन सत्रमा ‘हाइज्याकिङ फर डेमोक्रेसी’ शीर्षकको डकुमेन्ट्रीको प्रदर्शनी हुनेछ ।
महोत्सवमा कविता, गजल, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक तस्बिर प्रदर्शनी लगायतका कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । साहित्यकार अभि सुवेदीले बीपीको साहित्य सृजना र जीवन दर्शनबारे प्रवचन दिनेछन् ।
पहिलो दिनको अन्त्यमा कविता गोष्ठी हुने भएको छ जसमा २० जना कविहरुको सहभागिता रहने छ ।
नेपाली कांग्रेसले पहिलो पटक हुन लागेको महोत्सवमा सहभागी हुन प्राज्ञ, विद्वान तथा इच्छुक सबैमा अनुरोध गरेको छ ।
१७२ पटक हेरीएको