असोज ७, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुडान किरातीले आगामी दिनमा पर्यटन संस्कृति र पर्यटनमैत्री हुनुपर्ने बताउनुभएको छ ।
बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पोखरामा आयोजना गरेको ‘हेमदेवी क्षेत्रीय संस्कृति तथा समाजसेवा पुरस्कार–२०८०’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्रीले नेपालको मौलिकतालाई समेटेर नेपालको पर्यटन विकास गर्नुपर्ने बताउनुभयो । “भविष्यको पर्यटन विकासको मोडालिटी संस्कृति र प्रकृति हुनुपर्छ । अन्य देशको नक्कल गरेर हामी कहिल्यै प्रतिस्पर्धा गर्न सक्दैनौं। नेपाली मौलिकताको पर्यटन संस्कृति र प्रकृतिको एकीकरण हो,’ उनले भने ।
पर्यटनमन्त्री किरातीले अबको केही वर्षमा नेपाल विश्वकै पर्यटनको केन्द्र बन्ने बताए । नेपालजस्तो सुन्दर भूमिमा विश्वभरबाट लाखौं पर्यटक एकान्तमा ध्यान गर्न आउने उल्लेख गर्दै उनले देशका हरेक चोक, मन्दिर, कपडा र भाषालाई पर्यटकीय गन्तव्य बनाउने दाबी गरे ।
उनले गण्डकी प्रदेशका दुई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र विन्ध्यवासिनीलाई धार्मिक पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।
सो अवसरमा मन्त्री किरातीले मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य महाराज (मुक्तिनाथ बाबा) लाई ‘हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार–२०८०’ प्रदान गरेका थिए । पुरस्कारको राशी एक लाख १ हजार नगद र प्रमाणपत्र रहेको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले आफ्ना अभिभावकको नाममा रु १५ लाखको परिक्रमा कोष स्थापना गरी उक्त पुरस्कारको स्थापना गरेका हुन् । बाग्लुङको मुक्तिनाथ, विन्ध्यवासिनी र पाँचकोट जस्ता धार्मिकस्थल तथा तीर्थस्थलको विकास तथा सनातन धर्म संस्कृतिको विकासमा पु¥याएको योगदानको कदर गर्दै स्वामी कमलनयनाचार्यलाई उक्त पुरस्कारबाट सम्मान गरिएको समितिका अध्यक्ष गणबहादुर श्रेष्ठले जानकारी दिए ।
प्रत्येक दुई वर्षमा नेपालको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई यो पुरस्कार प्रदान गरिने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
यसअघि सत्यमोहन श्रेष्ठ, आत्मा नन्द गिरी, तुलसी दिवास र दुर्गा घिमिरेलाई सम्मान गरिएको थियो ।
१४२ पटक हेरीएको