मधेस

सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उपलब्ध रोजगारीमा स्थानीयलाई प्राथमिकता

सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उपलब्ध रोजगारीमा स्थानीयलाई प्राथमिकता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उपलब्ध रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

शनिबार सिमरामा जनप्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक समाजका अगुवा र स्थानीयसँग सिमरा सेज सम्बन्धी विषयमा भएको छलफलमा उनले सिमरा सेजमा रोजगारीका अवसरमा बारा र पर्सा जिल्लाका बासिन्दालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उद्योग मन्त्रीले सेज भित्र कुनै पनि आन्दोलन र औद्योगिक कारबाही नगर्न सुझाव दिए । उनले सेजबाट उद्योग सञ्चालन गर्न रोज्ने व्यवसायीलाई सुविधा उपलब्ध गराइने बताए ।

बारा क्षेत्र नं ४ का सांसद किसन श्रेष्ठले उद्योगीलाई सेजभित्रको जग्गा सित्तैमा उपलब्ध गराउन सुझाव दिए । “आर्थिक मन्दीका कारण उद्योगीहरू आफूले लिजमा लिएको सेजभित्रको जग्गा फिर्ता गर्ने मुडमा रहेको अवस्था सिर्जना भएको छ, त्यसैले उद्योगले ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था गर्दै जग्गाको भाडा नि:शुल्क गरिनुपर्छ । उत्पादनलाई ३० प्रतिशतमा झार्नुपर्छ,’ उनले भने ।

जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले पूर्व–पश्चिम राजमार्ग र वीरगन्ज सुख्खा बन्दरगाह सडकलाई जोड्ने ६ लेनको सडकलाई सेजमा सहज पहुँचका लागि कम्तीमा ४० मिटर चौडाइमा जोड्नुपर्ने बताउनुभयो ।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रमेशप्रसाद निरौला, सेजका कार्यकारी निर्देशक चण्डिका भट्ट, मेयर पौडेल, स्थानीय वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता थियो ।

सो अवसरमा स्थानीयले विशेष आर्थिक क्षेत्रभित्रको रोजगारीमा प्राथमिकता दिनुपर्ने माग राखेका थिए भने नागरिक समाजका प्रतिनिधिले सेजभित्रका उद्योग सञ्चालनमा सहजीकरण गर्न सरकारसँग माग गरेका थिए ।

१६१ पटक हेरीएको

सम्बन्धित समाचार