१ मंसिर, काठमाडौं । तिहारमा जुवा खेलिरहेको आरोपमा प्रहरीले १६५ जनालाई पक्राउ गरेको छ । छापा मार्ने क्रममा ३ करोड ४६ लाख रुपैयाँ बरामद भएको बताइएको छ ।
चाडपर्वमा प्रहरीले काठमाडौंका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानमा छापा मारेर यस्तो संख्यामा पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । सोही अवधिमा अवैध पटाका आपूर्ति गर्ने आठ जना पक्राउ परेका छन् ।
यसैबीच, तिहारको समयमा काठमाडौं उपत्यकामा आगलागीका १४ घटना भएका छन् भने रु ८७.७ करोडभन्दा बढीको धनमालको क्षति र एक जनाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा लक्ष्मीपूजाको साँझ भएको आगलागीमा परी ८० वर्षीय वृद्धको मृत्यु भएको छ ।यस्तै, काठमाडौं उपत्यकामा मात्रै विभिन्न सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३३० जना घाइते भएका छन् । प्रहरीले करिब रु एक करोडको सम्पत्ति चोरीको मुद्दा दर्ता गरी सातजनालाई पक्राउ गरेको छ । त्यसैगरी तिहारमा जुवा खेलिरहेको अवस्थामा नुवाकोटमा २१ र सल्यानमा १३ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
२३५ पटक हेरीएको