११ मंसिर, काठमाडौं । सरकारले आगामी वैशाख २१ र २२ गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन गर्ने घोषणा गरेको छ ।
तोकिएको मितिमा शिखर सम्मेलन गर्ने तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । अर्थमन्त्रीको संयोजकत्वमा सञ्चालक समितिको पहिलो बैठक आज बसेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्रीले शिखर सम्मेलनले विदेशी लगानी भित्र्याउने मात्र नभई गैरआवासीय नेपाली समुदायको स्वदेशी लगानी र लगानी परिचालनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको बताए । सम्मेलनको आयोजनालाई सहज बनाउन विदेशमा रहेका नेपाली दूतावासलाई परिचालन गरिनेछ ।
सम्मेलनको तयारीका लागि मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति गरी दुईवटा समिति गठन गरिएको छ । शिखर सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहनेछ ।
बैठकमा मन्त्रीले शिखर सम्मेलनमा हाइलाइट हुने ‘शोकेस आयोजना’ पहिचान गरी तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
१९६ पटक हेरीएको