मधेस

सर्लाहीको बराहथवा घटनाप्रति कांग्रेसले चासो व्यक्त

सर्लाहीको बराहथवा घटनाप्रति कांग्रेसले चासो व्यक्त

२२ पौष, काठमाडौं । नेपाली कांग्रेसले बराहथवा घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै शुक्रबार स्थानीयवासीले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीको गोली लागेर साहको मृत्यु भएकोप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए । नेपाली कांग्रेसले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । घटनाको यथार्थ अध्ययन गरी छानबिन गर्न, घाइतेको उपचारको व्यवस्था गर्न र प्रदर्शनकारीले उठाएका वास्तविक मुद्दाप्रति गम्भीर हुन सरकारलाई आग्रह पनि गरेको छ । अधिकारका लागि आवाज उठाउँदै शान्तिपूर्ण, अनुशासित र अहिंसात्मक कदम चाल्न सबैमा अनुरोध गर्दै कांग्रेसले सुरक्षा निकाय र सरोकारवाला सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

यसैबीच, सर्लाहीको मृत्युपछि अशान्तिको सम्भावनालाई मध्यनजर गर्दै सर्लाहीका स्थानीय प्रशासनले शुक्रबार दिउँसोदेखि बराहथवामा लगाइएको कर्फ्यु जारी राखेको छ । शुक्रबार साँझ ५ः३० बजेदेखि आज बिहान ८ बजेसम्म लगाइएको कर्फ्यु आइतबार बिहान ८ बजेसम्म लम्ब्याइएको छ ।

आक्रोशित स्थानीयले घटनास्थलबाट शव निकाल्न दिएका छैनन् ।

१६० पटक हेरीएको

सम्बन्धित समाचार