२ माघ, काठमाडौं । रसुवामा रहेको लाङ्टाङ–भोटेकोशी जलविद्युत् आयोजनाका लागि करिब रु २० अर्ब विदेशी लगानी परिचालन भएको छ । निर्माणाधीन आयोजनाको कुल १२० मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको छ ।
आयोजनाका लागि जनवादी गणतन्त्र चीनको बैंक अफ चाइनाबाट रु १९ अर्ब ८५ करोड ७० लाख बराबरको वैदेशिक लगानी ल्याइएको यस आयोजनाका प्रवद्र्धक मध्येका नेपाली काँग्रेसका नेता तथा सांसद दीपक खड्काले जानकारी दिनुभयो । आयोजनाको कुल लागत २४ अर्ब ९५ करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबर छ । प्रवर्द्धकले ५ अर्ब ९७ करोड ४७३ हजार रुपैयाँ लगानी गरेका छन् । आयोजनाले बैंक अफ चाइनाबाट १९ अर्ब ८५ करोड ७० लाख ऋण लिएको छ भने उक्त रकम इक्विटीका रूपमा राखिएको छ । सांसद खड्काले आयोजनाको सम्पूर्ण वित्तिय व्यवस्थापन भएको बताए । आयोजनाको लगानी व्यवस्थापन गर्न विद्युत विकास विभागले फागुन १ गतेसम्मको समय दिएको थियो ।
आयोजनामा चिनियाँ कम्पनीको ९० प्रतिशत र नेपाली पक्षको १० प्रतिशत लगानी छ । लाङटाङ–भोटेकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी र एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना, सिचुवान शाखाबीच २०२३ जनवरी ७ मा आयोजनाका लागि आवश्यक लगानी ल्याउने सम्झौता भएको थियो । सांसद खड्काको पहलमा यो आयोजना अगाडि बढेको र चिनियाँ निर्माण कम्पनी सिचुआन हुवा फेई इनर्जी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ ।
सन् २०२० को जनवरीमा आयोजनाको शिलान्यास भएको थियो र हाल निर्माणको काम भइरहेको छ । रसुवा जिल्लामा ५ सय ८४ मेगावाट विद्युत उत्पादन गर्ने क्षमताका जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् ।
१७६ पटक हेरीएको