९ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० को लागि शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले चार वर्षे वार्षिक प्रणाली र स्नातक तहको आठ सेमेस्टर प्रणाली र स्नातकोत्तर तहको चार सेमेस्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
परिषद्का सदस्य–सचिव तथा त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले सम्बन्धित संकाय र प्राज्ञिक संस्थाका डीनले एकसाथ बसेर शैक्षिक क्यालेन्डर तयार गरेको बताए । वार्षिक प्रणालीअनुसार प्रथम वर्षको परीक्षा २०८१ भाद्र दोस्रो साता, दोस्रो वर्षको भर्ना २०८१ आश्विन दोस्रो साता र परीक्षा २०८२ असार दोस्रो साता हुनेछ । त्यसैगरी तेस्रो वर्षमा भर्ना हुने समय २०८२ असार दोस्रो साता, परीक्षा २०८३ जेठ दोस्रो साता, चौथो वर्षको भर्ना २०८३ असार दोस्रो साता र परीक्षा २०८४ वैशाख दोस्रो साता तोकिएको छ । त्यसैगरी सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तहको प्रथम सेमेस्टर २०८१ वैशाख, दोस्रो सेमेस्टर २०८१ आश्विन, तेस्रो सेमेस्टर २०८१ चैत र चौथो सेमेस्टर २०८२ भाद्र/अश्विनमा लिइनेछ । २०८२ को चैतमा पाँचौं सेमेस्टरको परीक्षा, २०८३ को आश्विनमा छैटौं सेमेस्टर, २०८३ को चैतमा सातौं सेमेस्टर र २०८४ को आश्विनमा आठौं सेमेस्टरको परीक्षा निर्धारण गरिएको छ । स्नातकोत्तर तहको प्रथम सेमेस्टरको परीक्षा २०८१ असार, दोस्रो सेमेस्टर २०८१ माघ, तेस्रो सेमेस्टर २०८२ असारमा र चौथो सेमेस्टरको पुस २०८२ मा हुने परीक्षा नियन्त्रक जोशीले बताए ।
परीक्षा सकिएको एक सय दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए ।
१६४ पटक हेरीएको