भारत लगेर एक अपाङ्ग युवकलाई बेपत्ता बनाउने व्यक्ति फरार भएको छ। डडेलधुराका कुमार रावललाई रोजगारीको लोभ देखाएर भारत लगेपछि उनी अहिले संकटमा परेका छन्।
प्राप्त जानकारी अनुसार, कुमारका बुबा मोहनसिंह रावल र आमा सम्झना रावल हुन्। उनका बाजे कल्सिङ रावल हुन् भने बहिनी तृष्णा रावल हाल धनगढीमा बस्दै आएकी छन्।
कुमारका अनुसार उनी १२ कक्षा सम्मको अध्ययन काठमाडौँमा बसेर गरेका थिए। यसै वर्ष असार २८ गते रोजगारीका लागि भारत गएको बताइएको छ। भारत लगेपछि उनलाई बस स्टेसनमा लगेर बाटोमा पैसा माग्न बाध्य पारिएको थियो। एकै ठाउँमा पटकपटक माग्दा मान्छेहरूले पैसा दिन छाडेपछि उनलाई लगेका व्यक्तिले मोबाइल समेत लगेर फरार भएका छन्।
हाल उनलाई भारतको चण्डीगढस्थित मुहालीको सेक्टर ८८ मा लोकेन्द्र राणाले राखेका छन् भन्ने जानकारी प्राप्त भएको छ। उनलाई नेपाल फर्काउन सहयोगका लागि आफन्तजनको खोजी भइरहेको बताइएको छ।
कुमार रावल अपाङ्ग अवस्थाका व्यक्ति हुन्, जसलाई असुरक्षित रूपमा भारत लगेर दुर्व्यवहार गरिएको स्पष्ट देखिन्छ। घटनाको गम्भीरता र मानवीय पक्षलाई ध्यानमा राख्दै सम्बन्धित निकायबाट तत्काल पहल गरिनु आवश्यक देखिएको छ।
३४३ पटक हेरीएको