त्रिवेणी/रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–३, रानागाउँका स्थानीयवासीहरूले जिउज्यान र जग्गाजमिनको सुरक्षाका लागि त्रिवेणी गाउँपालिका अध्यक्षसमक्ष लिखित निवेदन दिएका छन्।
स्थानीयवासीहरूले उक्त निवेदनमार्फत रोल्पा चुनढुंगा खानी प्रा.लि. र शिवस्वरुप खनिज उद्योगले संविधान प्रदत्त मौलिक हकको उल्लङ्घन गर्दै जबरजस्ती खानी सञ्चालन गरी रानागाउँवासीलाई प्रत्यक्ष रूपमा असर पारिरहेको गम्भीर आरोप लगाएका छन्।
निवेदनमा उल्लेख भएअनुसार, खानी सञ्चालन गर्ने पक्षले विगतमा स्थानीयवासीहरूसँग भएका सम्झौता तथा सहमति कार्यान्वयन नगरी उल्टै धम्की, त्रास र दुव्र्यवहार गर्दै आएको जनाइएको छ। खानी तथा उद्योगसँग सम्बन्धित संचालक प्रेम पुन, लिलाधर वली, रामबहादुर खड्का लगायतले स्थानीयलाई डर धम्की दिने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएको दाबी गरिएको छ।
स्थानीयवासीहरूले खानी सञ्चालनले आफूहरूको बासस्थान र जग्गाजमिनमा प्रत्यक्ष असर परेकाले संविधानले सुनिश्चित गरेको जीवन यापनको अधिकार र स्वामित्व अधिकार कुण्ठित भएको उल्लेख गरेका छन्। साथै, आफ्ना जायज मागहरू पूरा गर्न पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरिएकाले अबको अवस्था गम्भीर बन्न सक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल हस्तक्षेप गर्न अनुरोध गरिएको छ।
उक्त निवेदनमा भावना घर्ती, सागर विक, बुद्धिमान विक, हरिप्रसाद बाँठा, नारायण विक, किरण विक, यामबहादुर राना, मनसरा सुन घर्ती पुन, मंगल विक, दीपक बुढा, भुमा विक, चन्द्र गिरी, प्रकाश घर्ती, गौमति घर्ती, सम्मेस रामा दिलसरा घर्ती, खिरमाली राना, दिलकुमारी राना, रमेश राना, भूपबहादुर थापा, जसबहादुर बुढा, गुरु घर्ती, किमा विके, कमल घर्ती, अर्जुन विक र मनबहादुर रानालगायत २५ जनाको हस्ताक्षर रहेको छ।
निवेदनको बोधार्थ रोल्पा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, लुम्बिनी प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री तथा गृह मन्त्रालय काठमाडौंमा समेत पठाइएको छ।
६६८ पटक हेरीएको
टेक मगर