लोकेन्द्र के:सी रोल्पा, रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका–२ राङ्सीमा पछिल्लो एक सातादेखि भुसिया कुकुरको आक्रमण बढ्दै गएपछि वडा कार्यालयले रेविज विरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
वडा कार्यालयका अनुसार भदौ ७ गते खेरागाउँका लक्ष्मण विकका ३ वटा बाख्रा, भदौ १४ गते शंकरलाल घर्तीका ३ वटा बोका र भदौ १५ गते पुनका १ वटा बाख्रा भुसिया कुकुरले आक्रमण गरी मारेका छन्। छोटो समयमै ७ वटा बाख्रा मारिएपछि किसानलाई ठूलो आर्थिक क्षति भएको छ भने गाउँमा साना बालबालिकादेखि वृद्धवृद्धासम्म त्रास बढेको छ।
यसैबीच, वडा कार्यालयले आगामी भदौ १६ र १७ गते विशेष अभियानमार्फत गाउँभरिका कुकुरलाई रेविज विरुद्धको खोप लगाइने जनाएको छ। वडाध्यक्ष हरि प्रसाद बुढामगरका अनुसार यस अभियानको उद्देश्य कुकुरमार्फत सर्ने घातक रोग रेविजबाट मानव तथा पशु दुवैलाई जोगाउने हो।
“गाउँमा पालिएका कुकुरलाई छाडा राख्दा समस्या बढिरहेको छ। त्यसैले सबै घरधनीले आफ्ना कुकुरलाई घरमै बाधेर राखी खोप अभियानमा अनिवार्य रूपमा सहभागी गराउनुपर्ने” वडाध्यक्ष बुढामगरले आग्रह गरे।
वडा कार्यालयले खोप अभियानलाई सफल बनाउन सबैलाई सहयोग गर्न आह्वान गर्दै, आगामी दिनमा अनियन्त्रित भुसिया कुकुर व्यवस्थापनका लागि आवश्यक ठोस कदम चालिने स्पष्ट गरेको छ।
३०६ पटक हेरीएको