रोल्पा, मंसिर त्रिवेणी गाउँपालिका रोल्पाका Gen-Z युवाहरूले त्रिवेणी गाउँपालिकामा भ्रष्टाचार, ढिलासुस्ती र असमान बजेट विनियोजन विरुद्ध संघर्ष गर्ने घोषणा गर्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाठा लाई सात बुँदे ज्ञापनपत्र बुझाएका छन्।
Gen-Z संयोजक सन्दीप बि.क.को नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा हालको पालिका व्यवस्थामा देखिएका नीतीगत भ्रष्टाचार, असमान बजेट वितरण, र सेवा प्रवाहमा देखिएको ढिलासुस्ती तत्काल रोक्न माग गरिएको छ। युवाहरूले “नेपालका शहरदेखि गाउँसम्म फैलिएको नयाँ पुस्ताको विद्रोह” का रूपमा आफूहरूको अभियानलाई चित्रण गरेका छन्।
ज्ञापनपत्रमा जनाइए अनुसार, युवाहरूले पालिकाले अस्थायी करारमा नियुक्त गरेका कर्मचारी हटाउने, खर्च घटाउने र नेपाल सरकारले दिएको निर्देशन तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। साथै, पालिकाको बजेट र खरिद सम्बन्धी सबै विवरण सार्वजनिक गर्नुपर्ने, कृषि बजेटको परिचालनबारे स्पष्ट विवरण दिनुपर्ने, र खेलकुद क्षेत्रमा युवाहरूलाई हरेक ६ महिनामा प्रोत्साहनका कार्यक्रम गर्नुपर्ने मागसमेत गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “हामी हाम्रा मागहरू एक महिनाभित्र पूरा हुने विश्वास लिएका छौं, अन्यथा आन्दोलनको विकल्पमा जान बाध्य हुनेछौं।”
Gen-Z युवाहरूले यो अभियानलाई गाउँस्तरदेखि देशव्यापी शुद्धिकरण आन्दोलनको रूपमा अघि बढाउने जनाएका छन्।
५९५ पटक हेरीएको