रोल्पा, माडी गाउँपालिकाको नेतृत्वमाथि निरन्तर भइरहेको भ्रष्टाचार र जनविरोधी गतिविधिको विरोधस्वरूप जेन्जी पुस्ता माडी गाउँ कार्यसमिति ले आज दबाबमूलक आन्दोलनको घोषणा गर्ने भएको छ।
जेन्जी पुस्ताका अध्यक्ष प्रकाश वलीले आज जारी गरेको विज्ञप्तिमा गाउँपालिकामा देखिएको करिब ३६ लाख रुपैयाँको भ्रष्टाचार र शैक्षिक सामग्री खरिदमा भएको रकम अपचलनलगायतका विषयमा तत्काल छानबिन गर्न माग गरिएको छ।
वलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामीले कात्तिक १४ गते माडी गाउँपालिकालाई आठ बुँदे ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र सर्वपक्षीय छलफलको माग गरेका थियौं। तर निर्धारित समयसीमा भित्र गाउँपालिकाले छलफलको तयारी नगरी मौन बसेकोले यसले आफ्नो नैतिक बल गुमाइसकेको प्रमाणित भएको छ।”
जेन्जी पुस्ताले माडी गाउँपालिकाको नेतृत्व नै भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको ठहर गर्दै भव्य विरोध प्रदर्शन र खबरदारी कार्यक्रमको तयारी गरेको जनाएको छ। आन्दोलनका माध्यमबाट गाउँपालिकालाई सर्वपक्षीय छलफलमा सहभागी गराउन दबाब दिने र अर्को ध्यानाकर्षण पत्र पेस गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।
वलीले जारी गरेको वक्तव्यमा पत्रकार, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, व्यापारी, राजनीतिक दल, संघसंस्था र सम्पूर्ण माडिवासी जनसमुदायलाई भ्रष्टाचारविरोधी आन्दोलनमा सक्रिय सहभागिता जनाई आन्दोलनलाई सफल बनाउन आग्रह गरिएको छ।
३४३ पटक हेरीएको