अन्तराष्ट्रिय

नेपाली यूवा क्लब जेदा, साउदी अरब द्वारा अरनिको मा.वि मा शैक्षिक र खेलकुद सामग्री वितरण

नेपाली यूवा क्लब जेदा, साउदी अरब द्वारा अरनिको मा.वि मा शैक्षिक र खेलकुद सामग्री वितरण

रोल्पा, नेपाली यूवा क्लब जेदा, साउदी अरबको सहयोगमा श्री अरनिको माध्यमिक विद्यालय, त्रिवेणी–२ रोल्पामा शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक गणेशकुमार घर्ती मगरले गर्नुभएको थियो भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा त्रिवेणी गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष कबिराज बुढा मगर रहनुभएको थियो।

कार्यक्रमका क्रममा विद्यालयमा अध्ययनरत २१ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्वीटर, कापी, कलम र सीसाकलम वितरण गरिएको थियो। साथै विद्यालयलाई भलिबल, भलिबल नेटलगायतका शैक्षिक तथा खेलकुद सामग्रीहरू हस्तान्तरण गरिएको थियो।

प्रधानाध्यापक घर्ती मगरले यस्ता सहयोगात्मक कार्यहरूले विद्यार्थीहरूलाई पढाइमा प्रोत्साहन मिल्ने बताउँदै, कार्यक्रमको समन्वयकर्ता तथा विद्यालयका पूर्व विद्यार्थी नेपाली यूवा क्लब जेदा साउदीका सक्रिय सदस्य वरमान बुढासहित सम्पूर्ण क्लब सदस्यहरू प्रति धन्यवाद व्यक्त गर्नुभयो।

त्यस्तै प्रमुख अतिथि कबिराज बुढा मगरले नेपाली यूवा क्लब जेदा साउदी अरबले विद्यालयप्रति देखाएको सद्भाव र योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै, यस्ता सहयोगहरूले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्ने, विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र खेलकुदमा सक्रिय सहभागिता बढाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन तथा संयोजन विद्यालयका शिक्षक पर्शुराम घर्तीले गर्नुभएको थियो।

३४७ पटक हेरीएको

सम्बन्धित समाचार