रोल्पा, रोल्पा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका धेरै क्रसर उद्योगले नेपाल सरकारले तोकेको नियम–मापदण्ड विपरीत उत्खनन गरेको भन्दै स्थानीय बासिन्दाले गुनासो बढाएका छन्। जथाभावी रूपमा खनिज पदार्थ निकालिँदा वर्षायाममा पहिरो, भूस्खलन तथा अन्य वातावरणीय जोखिम बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।
जिल्लाभर देखिएको यही समस्या परिवर्तन गाउँपालिकामा पनि देखा परेको छ। गाउँपालिकाभित्र रहेका क्रसर उद्योगहरूले बस्ती नजिकै मेसिन सञ्चालन गर्ने, अनुमति नपाएको स्थानमा उत्खनन गर्ने तथा नदीजन्य पदार्थ मनमानी रूपमा उठाउने गरेको स्थानीयको आरोप छ। यसले वातावरण, सडक संरचना र खेतीबालीमा प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ छ।
नियमन र अनुगमन गर्ने जिम्मेवारी रहेका स्थानीय सरकार तथा अन्य सम्बन्धित निकायले प्रभावकारी रूपमा ध्यान नदिएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। केही क्रसर सञ्चालकले स्थानीय सरकारलाई समेत आफ्नो प्रभावमा पारेका कारण सम्बन्धित निकाय मौन बसेको हुनसक्ने आशंकासमेत व्यक्त गरिएको छ।
स्थानीय बासिन्दाहरूले क्रसर उद्योगहरूले तत्काल मापदण्डअनुसार सञ्चालनमा सुधार ल्याउनुपर्ने र समयमै सुधार नगरे कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। उनीहरूले जनजीवन, वातावरण र भौतिक पूर्वाधार जोगाउन लागि स्थानीय सरकारले कडाइका साथ निगरानी बढाउन आवश्यक रहेको बताएका छन्।
२९७ पटक हेरीएको