मनोरञ्जन

नव प्रतिभा भीम कुमारी बाठा मगरको ‘मरे खबर सुन्न पाउने छौं’ सार्वजनिक

नव प्रतिभा भीम कुमारी बाठा मगरको ‘मरे खबर सुन्न पाउने छौं’ सार्वजनिक

रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका–१ यारीकी नव प्रतिभा तथा नव गायिका भीम कुमारी बाठा मगर पछिल्ला दिनमा निरन्तर सांगीतिक यात्रामा सक्रिय हुँदै आएकी छिन्। बुवा प्रेम लाल बाठा मगर र आमा खर्ग माली बाठा मगरको कोखबाट जन्मेकी जेठी सुपुत्री भीम कुमारी हाल दाङमा बसेर संगीत क्षेत्रमा आफ्नो भविष्य निर्माणका लागि संघर्षरत छिन्।

सानैदेखि गीत–संगीतप्रति विशेष रुचि राख्ने उनीले शुक्रबार मात्र ‘मरे खबर सुन्न पाउने छौं’ बोलको अत्यन्तै मार्मिक लोकगीत बजारमा ल्याएकी छन्। यो गीतमा बिछोडिएका जोडीको भावनात्मक जीवनकथालाई समेटिएको छ। सार्वजनिक गीत उनका लागि दोस्रो सांगीतिक प्रस्तुति हो। यसअघि केही दिनअघि मात्र उनले ‘बबई तरेर सिउँदो भरेर’ बोलको पञ्चेबाजा गीत सार्वजनिक गरेकी थिइन्। उक्त गीतमा भीम कुमारीसँगै वीरेन्द्र घर्ती मगर र सन्दीप सेञ्चुरीको आवाज समावेश छ, जसलाई सुनछहरी खबर युटुब च्यानलमार्फत हेर्न सकिन्छ।

नयाँ गीत ‘मरे खबर सुन्न पाउने छौं’ भने मेक्सम नरेश अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा नरेश खातीको शब्द तथा सुरेश सिवाकोटीको संगीत संयोजन रहेको छ। भीम कुमारी बाठा मगर र नरेश खातीकै सशक्त आवाजमा बनेको गीतमा नरेश खाती र रीमा विश्वकर्माको आकर्षक अभिनय प्रस्तुत गरिएको छ। गीतको निर्देशन जेरी भण्डारीले गरेका छन् भने सहायक निर्देशनमा अमर रावल रहेका छन्।

गीत–भिडियो निर्माणमा रुद्र शर्माको विशेष सहयोग रहेको निर्मातृ पक्षले जनाएको छ। सांगीतिक यात्राको सुरुआत गरिरहेकी भीम कुमारी बाठा मगरलाई यस गीतमार्फत दर्शक–श्रोताबाट उत्साहजनक प्रतिक्रिया मिल्ने अपेक्षा गरिएको छ।

४९० पटक हेरीएको

सम्बन्धित समाचार