जिल्लाको तलकोट गाउँपालिका–३ बस्तीगाउँकी २९ वर्षीया पशुपति रोकायाको घाँस काट्ने क्रममा भिरबाट खस्दा घटनास्थलमै मृत्यु भएको छ। शनिबार दिउँसो करिब १:३५ बजे खरमेलामा घाँस काट्दै गर्दा खुट्टा चिप्लिएर उनी करिब ३०० मिटर तल सेती नदी किनार नजिकैको सडकमा खसेकी थिइन्।
दुर्घटनापछि सडकबाट गुड्दै आएका एक गाडी चालकले रोकायालाई रक्ताम्य अवस्थामा भेटेर परिवारलाई खबर गरेका थिए। स्थानीयको अनुसार, उनी घरबाट करिब डेढ किलोमिटर टाढा रहेको खरमेलामा (गाउँमा गाजो भनेर चिनिने) हिउँदमा पशुचौपायाका लागि घाँस–दाउरा संकलनका लागि गएकी थिइन्।
तलकोट–२ स्थित माइती घरकी पशुपति रोकायाको विवाह भएको एक वर्षमात्रै भएको परिवारले जनाएका छन्। पहाडी भेगका अधिकांश किसानहरू जस्तै उनी पनि सुख्खा खरेनी पाखामा गएर दैनिक जीवनयापनका लागि आवश्यक गाजो संकलन गर्दै आएकी थिइन्। जोखिमपूर्ण भिरालो भू–भागमा घाँस काट्नुपर्ने बाध्यताका कारण हरेक वर्ष यस्ता घटनामा दर्जनौं महिलाहरूले ज्यान गुमाउँदै आएको स्थानीयको दुखेसो छ।
१८१ पटक हेरीएको