अन्तराष्ट्रिय

एमाले महाधिवेशनका लागि भक्तपुरका तीन स्थानमा पार्किङ सुविधा

एमाले महाधिवेशनका लागि भक्तपुरका तीन स्थानमा पार्किङ सुविधा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि र पर्यवेक्षकका सवारीसाधन व्यवस्थापनका लागि भक्तपुरका तीन स्थानमा पार्किङ व्यवस्था गरिएको छ।

यातायात व्यवस्थापन समितिका संयोजक तथा एमाले सचिव गोकर्ण विष्टको नेतृत्वमा बनेको समितिले सार्वजनिक तथा निजी दुवै प्रकारका सवारीसाधन सहज रूपमा राख्न सकिने गरी छुट्टाछुट्टै पार्किङ क्षेत्र तोकेको छ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमका अनुसार काठमाडौँदेखि पश्चिमबाट आउने सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण परिसर र सिटिइभिटीको चौरमा पार्किङ गरिनेछ।

काठमाडौँको पूर्व दिशाबाट आउने सवारीसाधनका लागि जगातीस्थित ‘वाइरल प्लानिङ’ क्षेत्रमा विशेष पार्किङ सुविधा मिलाइएको छ। त्यसैगरी, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोटलगायतका स्थानबाट आउने सवारीसाधनलाई कमलविनायक करिडोरमा राख्ने व्यवस्था गरिएको समितिले जनाएको छ।

महाधिवेशनका सहभागीहरूको आवागमन सहज बनाउन १५ सदस्यीय यातायात व्यवस्थापन समिति गठन गरिएको छ, जसमा लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि संयुक्त रूपमा रहनेछन्।

हालसम्म करिब तीन हजार सार्वजनिक र दुई हजार निजी सवारीसाधनका लागि पार्किङ सुनिश्चित गरिएको अध्यक्ष गौतमले बताए। आवश्यकता परे थप स्थानहरू पनि प्रयोगमा ल्याईने तयारी रहेको उनले स्पष्ट पारे। उनका अनुसार महाधिवेशनमा सहभागीहरूका सवारीसाधन पार्किङमा कुनै समस्या नपर्नेछ।

आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी हुने नेता तथा कार्यकर्तामध्ये हाल करिब ३० प्रतिशत राजधानी भइसकेको जानकारी समितिले दिएको छ।

१९२ पटक हेरीएको

सम्बन्धित समाचार