रोल्पा, रोल्पामा भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। रुन्टिगढी गाउँपालिका–१, दाङचौर निवासी ४८ वर्षीया पार्वती बुढा क्षेत्रीको मृत्यु भएको हो।
प्रहरीका अनुसार पौष १४ गते दिउँसो करिब १ बजेको समयमा बुढा क्षेत्री खर काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो। घाइते अवस्थामा उहाँलाई सोही दिन साँझ करिब ६ बजे उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा उहाँको टाउको, अनुहार तथा बाँया हातमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका थिए। उहाँ बोल्न नसक्ने अवस्थामा रहनुभएको र उपचारमा उहाँकी बुहारी रिता बुढा क्षेत्री संलग्न रहेको जानकारी अस्पतालमा खटिएका प्रहरी कर्मचारीले जिल्ला प्रहरी कार्यालय रोल्पालाई दिएका थिए।
पौष १६ गते दिउँसो ३ बजेर ५० मिनेटको समयमा घाइतेलाई आइसीयूमा राखी उपचार भइरहेको अवस्थामा परिवारले आफ्नै जिम्मामा घर लैजाने निर्णय गरेको प्रहरीको भनाइ छ। त्यसपछि घर ल्याइएकी बुढा क्षेत्रीको आज बिहान ६ बजेर ३० मिनेटको समयमा आफ्नै निवासमा मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
१४१ पटक हेरीएको
टेक मगर