मुख्य समाचार

रोल्पामा अटो दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु

रोल्पामा अटो दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु

रोल्पा, जिल्लाको लुङ्ग्री गाउँपालिका–४ धुलेओडारमा भएको अटो दुर्घटनामा चालकको उपचारका क्रममा मृत्यु भएको छ।

सिर्पबाट सुलिचौरतर्फ आउँदै गरेको अटो आज पुष २२ गते मङ्गलबार दिउँसो करिब २:५० बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परेको अटो म.प्र.२–०३–००३५ (स २३८१) नम्बरको रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

अटो लुङ्ग्री गाउँपालिका–१ पाङ निवासी अन्दाजी २५ वर्षीय जोगमान बस्नेतले चलाइरहेका थिए। सडकमा आफैँ अनियन्त्रित भई अटो सडक छेउको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक बस्नेतको शरीरको भित्री भागमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको थियो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्‍याएको थियो।

प्राथमिक उपचारपछि थप उपचारका लागि दिउँसो करिब ३:२० बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको भए पनि बाटोमा लैजाँदै गर्दा अवस्था झन् गम्भीर बनेपछि आफन्तहरूले पुनः सुलिचौर फर्काएका थिए। त्यसपछि चिकित्सकले जाँच गर्दा दिउँसो करिब ४:३० बजे चालक जोगमान बस्नेतलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाका बेला अटोमा चालक मात्र सवार रहेको र अटोका कागजपत्र साथमा नरहेको बताइएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

१०७ पटक हेरीएको

सम्बन्धित समाचार