रोल्पा। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड शाखा कार्यालय जुगारले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिका वडा नं. १ करेटीका ६ वटा विद्यालयमा अध्ययनरत ४० जना गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई ट्रयाकसुट र स्कुल झोला वितरण गरेको छ।
विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक पहुँच, आत्मविश्वास र निरन्तरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री सहितको पोशाक सहयोग प्रदान गरिएको हो। सहयोग पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए भने अभिभावकहरूले पनि बैंकको यो पहललाई अत्यन्त सराहनीय भन्दै धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा त्रिवेणी गाउँपालिका जिल्ला समन्वय समिति सदस्य केवल प्रशाद घर्ती, वडा नं. १ का वडा अध्यक्ष देउराम घर्ती, वडा सदस्यहरू, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक जुगार शाखाका शाखा प्रबन्धक दोर्ण प्रशाद सुवेदी, बैंक कर्मचारी दिपक डाँगी,शिक्षक लगायत स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
बैंकले ग्रामीण क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर गरेको यो सहयोगले उनीहरूको पढाइप्रति थप हौसला मिल्ने र अभिभावकको आर्थिक भार पनि कम हुने साथै बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले समुदाय र बैंकबीच विश्वास र सहकार्यको सम्बन्ध मजबुत बनाउने कार्यक्रममा उपस्थित व्यक्तिहरुको भनाइ रहेको थियो ।
त्यस्तै, जुगार शाखाका शाखा प्रबन्धक दोर्ण प्रशाद सुवेदीले शिक्षा क्षेत्रमा लगानी गर्नु नै देशको भविष्य सुरक्षित गर्नु हो भन्दै आगामी दिनमा पनि बैंकले यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सामाजिक उत्तरदायित्वमार्फत समुदायसँग जोडिँदै आएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यो पहलले ग्रामीण भेगका विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थपेको स्थानीयवासीहरूको भनाइ छ।



३०७ पटक हेरीएको