मधेस

निजगढबाट ७ करोड ठगी गरेर महिला फरार

निजगढबाट ७ करोड ठगी गरेर महिला फरार

बारा । निजगढ नगरपालिकामा विभिन्न व्यक्ति र संघसंस्थाको ७ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएकी मनिला गौतम (निरु) लाई खोज्न प्रहरीले चासो नदेखाएको भन्दै पीडितहरुले गुनासो गरेका छन् ।

एक दर्जनभन्दा बढी सहकारी, लघुवित्त र व्यक्तिको रकम उठाएर फागुन ११ गते गौतम फरार भएकी थिइन् । उनको खोजी गरी आवश्यक कारबाहीका लागि पीडितहरुले गत असार २७ गते निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा सहकारी र लघुवित्त बाहेक पनि ४९ जना महिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । तर, ज्ञापनपत्र बुझाएको डेढ महिना बितिसक्दा पनि सरोकारवाला निकायले कुनै सहयोग नगरेको निजगढ नगरपालिका–५ की एक पीडित भक्तकुमारी राउतले बताइन् । उनले प्रहरी प्रशासनले आफूहरुलाई कुनै सहयोग नगरेको गुनासोसमेत गरिन् ।

निजगढ नगरपालिका– ९ की कल्पना खरेलले पनि प्रहरीले हालसम्म जाहेरी दर्तासमेत नगरेको बताइन् । उनले भनिन्, ‘हामीले न्यायका लागि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, एसपीलाई भेटेर ज्ञापनपत्र बुझायौँ तर अहिलेसम्म कुनै सुनवाइ भएको छैन, न्यायका लागि अब कसलाई भन्न जाने ?’

करोडौँ रुपैयाँ उठाएर फरार भएकी मनिला गौतम हाल विदेशमा रहेको पीडितहरुले जनाएका छन् । गौतमले स्थानीय गरिब, विपन्नदेखि धनाढ्य व्यक्तिहरुलाई समेत ठगेको खरेलको भनाइ छ । विभिन्न बहाना बनाएर, विभिन्न समस्या देखाएर गौतमले चिनजानको व्यक्तिहरुको जग्गा धितोमा राखेर संघसंस्थाबाट रकम झिकेको अनुसन्धानको क्रममा भेटिएको छ ।

१७४ पटक हेरीएको

सम्बन्धित समाचार