मुख्य समाचार

’हेलो सरकार’ को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने

’हेलो सरकार’ को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने

१७ भदौ, काठमाडौं । काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ’हेलो सरकार’ को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।

शुभारम्भ समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरु, विभागीय प्रमुखहरु, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरु, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरु सहभागी थिए ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा बिस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ । गुनासोहरु फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ। हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरु तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।
हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरुप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरु खटाइएको छ ।

हेलो सरकारमा आएका गुनासोहरु गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरु सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।
गुनासोहरु सम्बोधनका निम्ति ¥यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताए । उक्त टीमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिए ।

१४२ पटक हेरीएको

सम्बन्धित समाचार