१ असोज, काठमाडौँ । जनरल हुलाक कार्यालय डिल्लीबजार हुँदै अमेरिकाबाट तस्करी ल्याएको ३.२३९ केजी गाँजा र २६८.२१० ग्राम ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो, काठमाडौंले गाँजा ओसारपसारमा संलग्न ६ जना र अमेरिकाबाट ल्याइएको हेरोइन ओसारपसारमा संलग्न ४ जनालाई गोप्य सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम प्रहरीले अनुसन्धान थालिएको ब्यूरोका उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । पक्राउ परेकाहरुलाई आज सञ्चारमाध्यममा प्रस्तुत गरिएको छ । उनीहरुले पुर्याएको पार्सलमा गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक जोशीले बताए ।
प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत वीरगन्ज पठाउने गरी जनरल हुलाक कार्यालय डिल्लीबजारमा पठाइने कार्टुनमा शंकास्पद रुपमा चेकजाँच गरी ९ सय ग्राम ब्राउन सुगर बरामद गरिएको हो । कार्टन पार्सल लिन आउने व्यक्तिको खोजी गर्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगन्जका डल्लुराम र हबिब मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी अमेरिकाबाट पठाइएको अर्को कार्टुन डिल्लीबजार हुलाक कार्यालय हुँदै जिल्ला हुलाक कार्यालय पोखरामा लैजाने क्रममा एक हजार चार सय ग्राम गाँजा फेला परेको ब्युरोले जनाएको छ । गाँजा लिन आएका भारतीय नागरिक २४ वर्षीय अजिन भर्जेसलाई सोही क्रममा हुलाक कार्यालयबाटै पक्राउ गरिएको हो । उनको भाडाको कोठाबाट थप ७२० ग्राम गाँजा बरामद भएको छ ।
हुलाकबाट आएको गाँजा लिन आएकी डडेल्धुराकी रेणुका तामाङलाई पनि पक्राउ गरिएको छ । उनको बयानका आधारमा उनलाई तस्करी लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहम्मद नईमलाई पनि पक्राउ गरिएको छ । उनीहरुको साथबाट ९ सय ३९ ग्राम गाँजा बरामद गरिएको छ ।
ब्युरोले ब्राउन सुगरसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापामा बस्दै आएका भारतीय नागरिक लाल मियाँलाई समेत पक्राउ गरेको सञ्चारमाध्यमलाई जानकारी दिएको छ । उनीहरुको साथबाट २६८ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरिएको छ ।
१९१ पटक हेरीएको