२० पौष, काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक बिहीबार चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ ।
भेटमा द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा भएको थियो । दुई देशबीच द्विपक्षीय सञ्जाल विस्तार, व्यापार, जलस्रोत र ऊर्जा व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल र भारतबीच उच्च प्रभावकारी सामुदायिक विकासलाई सरकारी निकाय वा संस्थानमार्फत कार्यान्वयन गर्न भारतीय अनुदान सहायतासम्बन्धी सम्झौता भएको जानकारी दिए । दुई देशले हस्ताक्षर गरेका अन्य सम्झौताहरू- दीर्घकालीन ऊर्जा व्यापार; नेपाल विद्युत प्राधिकरण र राष्ट्रिय थर्मल पावर कर्पोरेसनबीच नवीकरण ऊर्जाको विकासमा सहकार्य; नेपाली स्याटेलाइट प्रक्षेपणमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू स्पेस इण्डिया (एनएसआई)बीच भेटवार्ता भएको छ । ऊर्जा व्यापार सम्झौताअनुसार नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् भारतलाई निर्यात गर्ने भएको छ ।
यसैबीच रक्सौल–परवानीपुर, मैनाहिया–नयाँ नौतनवा र कुशाहा–कटैया गरी १३२ केभी अन्तरराज्यीय प्रसारण लाइनको बिहीबार नै उद्घाटन गरिएको छ । प्रसारण लाइनको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गरेका थिए ।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
१४० पटक हेरीएको