१७ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सले मंगलबार शिष्टाचार भेट गरेका छन् ।
बेलायती सेना प्रमुखलाई सिंहदरबारस्थित आफ्नो कार्यालयमा स्वागत गर्दै रक्षामन्त्रीले भ्रमणले नेपाल र बेलायतबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखि रहेको द्विपक्षीय सम्बन्ध जनस्तरसम्म विस्तार भएको बताए । दुवै देशले लोकतन्त्र, मानवअधिकार, कानूनको शासन र स्वतन्त्रताका समान मूल्यमान्यता साझा गरेको बताए । गत वर्ष भएको मैत्री सन्धिको शतवार्षिकी समारोहलाई स्मरण गर्दै मन्त्री खड्काले यसले आगामी शताब्दीका लागि बलियो द्विपक्षीय सम्बन्धको जग बलियो भएको टिप्पणी गरे। बेलायतलाई महत्वपूर्ण विकास साझेदारका रूपमा मान्यता दिँदै उनले चुनौतीपूर्ण समयमा नेपाललाई सहयोग गरेको स्वीकार गरे। बेलायती सेनामा बेलायती गोर्खा सैनिकको योगदानको प्रशंसा गर्दै मन्त्री खड्काले सन् १९९७ अगावै अवकाश पाएका र बेलायती समकक्षी सरह भत्ता र पेन्सन माग गर्दै आएका गोर्खा सैनिकको चिन्ताप्रति सकारात्मक प्रतिक्रिया दिन आग्रह गरे । यस विषयमा लामो छलफल भए पनि ठोस निष्कर्ष आउन बाँकी रहेको उल्लेख गर्दै उनले यी माग सम्बोधन गर्न बेलायती सरकारलाई थप उदार दृष्टिकोण अपनाउन आग्रह गरे ।
नेपाल र बेलायतबीचको सैन्य आदानप्रदानको महत्त्वलाई जोड दिँदै मन्त्री खड्काले अक्टोबर २०२३ मा क्याम्ब्रियन गस्तीमा १० नेपाली सैनिकको सहभागितालाई प्रकाश पार्दै नेपाली सेनाका लागि ‘विस्फोटक अस्त्र डिस्पोजल होल्डिङ युनिट’ स्थापना गरेकोमा बेलायती सरकारको प्रशंसा पनि गरे।भेटमा बेलायती सेनाका प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बेलायती गोर्खा सैनिकसँग जोडिएको विषयलाई आफूले गम्भीरताका साथ लिएको बताए । उनले अन्तर्राष्ट्रिय सुरक्षाको वातावरण झन् जटिल बन्दै गएकाले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल र बेलायतले मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए । उनले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा दोस्रो ठूलो संख्यामा सेना पठाउने राष्ट्र भएकाले नेपालको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालको भूमिका महत्वपूर्ण रहेको बताए ।
बेलायती सशस्त्र बलका प्रमुखले आगामी दिनमा नेपालसँग थप सहकार्य गर्न बेलायत इच्छुक रहेको बताए । उनले नेपालको प्रतिकूल आर्थिक अवस्थामा पनि बेलायतले दिँदै आएको सहयोगलाई निरन्तरता दिने आश्वासन पनि दिए । शिष्टाचार भेटमा रक्षा सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारी, बेलायती राजदूतलगायतको उपस्थिति रहेको थियो । कोएएस शर्मा र बेलायती सेना प्रमुख स्यान्डर्सबीच भेटवार्ता यसैबीच, प्रधानसेनापति जनरल प्रभुराम शर्मा र बेलायती सेना प्रमुख स्यान्डर्सबीच मंगलबार प्रधानसेनापति मुख्यालयमा भेटवार्ता भएको छ । सो अवसरमा उनीहरुबीच नेपाल र बेलायतबीच शताब्दीयौंदेखि कायम रहेको आपसी सम्बन्ध, दुई देशका सेनाबीचको सुमधुर सम्बन्धलाई प्रवद्र्धन गर्ने र आपसी हितका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भेटअघि बेलायती सेना प्रमुखलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । जनरल सर प्याट्रिक स्यान्डर्स अहिले ६ दिने नेपाल भ्रमणमा छन् ।
१३० पटक हेरीएको