मुख्य समाचार

नुवागाउँ अपाङ्ग कल्याणकारी समूह ले मनायो ३४औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

नुवागाउँ अपाङ्ग कल्याणकारी समूह ले मनायो ३४औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका-२ नुवागाउँमा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका साथ नुवागाउँ अपाङ्ग कल्याणकारी समूहले ३४औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भव्यताका साथ मनाएको छ। कार्यक्रमकाे सञ्चालन अपाङ्ग कल्याण समूहका सचिव टेक बहादुर घर्तीले गर्नुभएको थियो।

अपाङ्ग कल्याण समूहका अध्यक्ष बलसिंह घर्तीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा त्रिवेणी गाउँपालिकाका सामाजिक परिचालक संयोजक तथा वडा नं–२ का वडाध्यक्ष कविराज बुढा प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा त्रिवेणी गाउँपालिकाका कार्यपालिका सदस्य गोविन्द वि.क, नेकपा एमाले वडा कमिटीका अध्यक्ष लक्षिराम घर्ती, गाउँपालिका स्तरीय अपाङ्ग कल्याण समूहका अध्यक्ष नोखीराम डाँगी, त्रिवेणी गाउँपालिकाका बालबालिका शाखाका प्रमुख हिरा बुढा, अरनीको मावि नुवागाउँका प्र.अ गणेश कुमार घर्ती, शुक्र मावि झुम्लुङका प्र.अ पूर्ण घर्ती, युवा वर्ष प्रा.वि का प्र.अ देवबहादुर बाठा, वडा नं–२ का कर्मचारी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

अपाङ्ग दिवसको अवसरमा र्याली लगाएर बजार परिक्रम गरी सभा हलमा आएर कोण सभा गरेका थिए। अपाङ्ग दिवसको अवसरमा वक्तित्वकला प्रतियोगिता तथा सडक नाटक प्रदर्शन गरिएको थियो। वक्तृत्वकलामा प्रथम हुनेलाई १५०० बराबरको शैक्षिक सामग्री, द्वितीयलाई १००० बराबरको शैक्षिक सामग्री, तृतीय हुनेलाई ५०० बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो। त्यसैगरी सडक नाटक प्रस्तुत गर्ने टोलीलाई २००० बराबरको शैक्षिक सामग्री प्रदान गरिएको थियो।

सडक नाटक शुक्र मावि झुम्लुङका विद्यार्थीहरूले प्रस्तुत गरेका थिए। नाटकमा अपाङ्ग व्यक्तिप्रति समाजले गर्ने व्यवहार, उनीहरूले गरेका संघर्ष तथा प्राप्त सफलताका साथै सन्तान सफल बनेपछि परिवारमा आएको खुसीजस्ता जीवन्त घटनाहरू समेटिएका थिए।

वक्तृत्वकलामा सहभागी विद्यार्थीहरूले अपाङ्ग व्यक्तिहरूप्रति सकारात्मक व्यवहार गर्नुपर्ने, अवसर दिइए उनीहरू पनि सफल हुन सक्छन् भन्दै विभिन्न प्रेरणादायी व्यक्तित्वहरूको उदाहरण प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कविराज बुढाले अपाङ्गमैत्री नीतिगत र कार्यक्रमगत पहललाई अझ प्रभावकारी बनाउँदै अपाङ्ग लक्षित कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

५८८ पटक हेरीएको

सम्बन्धित समाचार