रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाइबिसौना स्थित सहिद मार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
मिति २०८२ साल पौष १४ गते बेलुका करिब ८:२० बजे, लिवाङबाट नुवागाउँतर्फ जाँदै गरेको रा ६ प ९९९६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडकमा पल्टिँदा त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी १९ वर्षीय बृगेट बुढा मगर गम्भीर घाइते भएका थिए।
गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ लगिएकोमा उपचारकै क्रममा पौष १५ गते बिहान १०:१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी नुवागाउँ रोल्पाबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो।
प्रहरीका अनुसार मोटरसाइकल त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी २० वर्षीय रुपेश बुढा मगरले चलाएका थिए। दुर्घटनामा चालक बुढा मगरको दायाँ खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको जनाइएको छ। चालक रुपेश बुढा मगरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ।
मृतक बृगेट बुढा मगर यस वर्ष प्रहरी सहायक निरीक्षक (असई) को तयारीमा जुटिरहेका थिए। उनी जनजाति सिफारिस लिन लिवाङ गएको र घर फर्किने क्रममा दुर्घटनामा परेका थिए। बुढा मगर परिवारका एक्ला छोरा भएको बताइएको छ।
त्यसैगरी, मृतक घोराहीस्थित महेन्द्र क्याम्पसमा अध्ययनरत बी.एड. दोस्रो वर्षका विद्यार्थी हुन्। पौष १७ गतेदेखि सुरु हुने बी.एड. दोस्रो वर्षको परीक्षाको तयारीमा समेत जुटिरहेका थिए।
हाल मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२३२० पटक हेरीएको
टेक मगर