रोल्पाको माडी गाउँपालिका वडा नं. १ भिताबाङको पैयपानी क्षेत्रमा मदन भण्डारी राजमार्ग विस्तार गर्ने क्रममा स्थानीयको प्रमिला खड्काको घर तथा खेतबारीमा पुर्ण रुपमा क्षति पुगेको छ।
स्थानीय राम बहादुर खड्का र प्रमिला खड्काको घर सडक खन्ने क्रममा पूर्ण रूपमा भत्किएर बस्नै नमिल्ने अवस्थामा पुगेको पीडित परिवारले जनाएको छ। घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बस्न बाध्य भएका छन।
घर मात्र नभई सडक विस्तारका क्रममा आसपासका खेतबारी समेत क्षति भएको स्थानीयले बताएका छन्। माटो कटान, जमिन भासिने र खेतीयोग्य जग्गा नष्ट हुने अवस्था आएको भन्दै किसानहरू चिन्तित बनेका छन्।

पीडित प्रमिला खड्काका अनुसार करिब १५ लाख रुपैयाँ खर्च गरेर बनाइएको घर पूर्ण रूपमा क्षति भएको छ। सरकारी मापदण्डअनुसार क्षतिपूर्ति कम हुने आशंका व्यक्त गर्दै उनीहरूले वास्तविक मूल्याङ्कन गरेर न्यायोचित तरिकाले क्षतिपूर्ति दिन माग गरेकी छीन्।
स्थानीयवासीले उक्त क्षेत्रमा थप क्षति रोक्न ग्याबियन जाली तथा मेसिनरी वाल निर्माण गर्नुपर्ने माग राखेका थिए तर माग राख्ने क्रममा इन्जिनियर र निर्माण कार्यमा संलग्न कामदार पक्षबाट दुर्व्यवहार भएको स्थानीयले आरोप लगाएका छन्।
स्थानीयका अनुसार ग्याबियन जाली तथा पर्खाल निर्माण गर्दा ठूलो लागत लाग्ने भन्दै करिब एक करोड रुपैयाँ खर्च हुन्छ, र त्यति रकमले पाँच–सातवटा घर बन्न सक्छ भन्ने खालको अभिव्यक्ति दिँदै धम्कीपूर्ण र अपमानजनक शैलीमा इन्जिनियर तथा कामदार दुवैले प्रतिक्रिया दिएको आरोप स्थानीयले लगाएका छन्।
यस विषयमा सम्बन्धित इन्जिनियरसँग टेलिफोनमार्फत गरिएको कुराकानीमा जिल्ला प्रशासन कार्यालय, सडक विभाग लगायत सम्बन्धित निकायसँग समन्वय गरिसकिएको र हालसम्म १५ वटा घरको क्षतिको विवरण संकलन भइसकेको जानकारी दिइए। साथै सरकारी नियमअनुसार क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाइएको समेत बताए।
स्थानीयका अनुसार सडक छेउछाउका करिब ११ वटा घर जोखिममा छन् भने बर्खायाम नजिकिँदै जाँदा थप पहिरो तथा क्षति हुने खतरा बढेको भन्दै पीडित परिवारले घरको क्षतिपूर्ति, जोखिमयुक्त बस्तीको व्यवस्थापन, राहत सामग्री, गास–बास–कपासको व्यवस्था, ग्याबियन जाली तथा मेसिनरी वाल निर्माण, र बर्खा अघि नै सुरक्षित व्यवस्थापन गर्न माग गरेका छन्।

वडा अध्यक्ष रोहित घर्ती मगर ले घटनाबारे जानकारी रहेको र सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्।
स्थानीयवासीले विकास निर्माण आवश्यक भए पनि जनताको घर, जग्गा र जीवन नै जोखिममा पर्ने गरी काम गर्न नहुने भन्दै तत्काल समस्या समाधानको माग गरेका छन्।
५५६ पटक हेरीएको