१७ भदौ, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्गमा तीनपाङ्ग्रे ई–रिक्सा चलाउन नदिने निर्णय गरेको छ ।
इटहरीमा सडक दुर्घटना बढ्दै गएपछि आजदेखि मुख्य राजमार्गमा ई–रिक्सा चलाउन रोक लगाइएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । इटहरी उपमहानगरपालिकामा दर्ता भएका ई–रिक्सालाई उपमहानगरपालिकाभित्र मात्र सञ्चालन गर्न दिइने भएको छ ।
इटहरी इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र इ–रिक्सा सञ्चालकबीच भएको सहमतिका आधारमा यस्तो निर्णय गरिएको उनले बताए ।
उपमहानगरपालिकाका अनुसार आवश्यक प्रक्रिया पूरा गरी ई–रिक्सालाई नम्बर दिएर ट्राफिक व्यवस्थापनमा सहजीकरण गरिनेछ । इटहरीमा करिब ५ हजार ई–रिक्सा सञ्चालनमा रहेकाले १ हजार १ सय मात्र इटहरीमा दर्ता भएको बताइएको छ ।
१५१ पटक हेरीएको