२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मानवअधिकार आयोगलाई ‘क’ वर्गको हैसियत कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र अन्य सदस्यहरूसँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रिय मानवअधिकार आयोगलाई ‘क’ वर्गको हैसियत कायम राख्ने प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रिय मानवअधिकार आयोगको वर्तमान अवस्थाको बारेमा जानकारी लिँदै प्रधानमन्त्रीले पेरिस सिद्धान्तअनुसार राष्ट्रिय मानवअधिकार आयोगको नयाँ ऐन तर्जुमा गरिने बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगको वर्तमान अवस्था, राष्ट्रिय मानवअधिकार आयोगको नयाँ ऐन र आयोगको अवस्थाबारे छलफल भएको थियो ।
बैठकमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ‘क’ वर्गको हैसियत कायम राख्दै आर्थिक स्वायत्तता, सदस्य नियुक्ति र कर्मचारीको पेरिस सिद्धान्तअनुसार करियर विकास गर्न सरकारले पहल गर्न माग गर्नुभयो ।
बैठकमा आयोगका सदस्यहरू डा सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक सचिव मुरारीप्रसाद खरेल, सहसचिव टिकाराम पोखरेललगायतको उपस्थिति थियो ।
३३५ पटक हेरीएको