कर्णाली

भूकम्पपीडित सबैलाई दुई दिनभित्र राहत उपलब्ध गराइन्छ : उपप्रधानमन्त्री खड्का

भूकम्पपीडित सबैलाई दुई दिनभित्र राहत उपलब्ध गराइन्छ : उपप्रधानमन्त्री खड्का

२० कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित जाजरकोटमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उपमेयर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर जाजरकोटको त्रिवेणी नदी किनारमा आयोजित सामुहिक अन्त्येष्टिमा उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पनि उपस्थित थिए । उपप्रधानमन्त्री खड्काले सरकारले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेको बताए । राज्यका सम्पूर्ण संयन्त्रलाई परिचालन गरेर एकै दिन भूकम्पपीडितको उद्धार गर्न सरकार सफल भएको बताउँदै उनले आजबाट पीडितलाई राहत वितरण सुरु गरेको बताए ।

उनले भने, ‘दुई दिनभित्र भूकम्पपीडित सबैमा पुग्ने गरी राहत सामग्री पठाएका छौँ । थप राहत पुग्ने क्रममा छ । हामीले उद्धार कार्य अघि बढाएका छौं, त्यसरी नै राहत वितरण गर्नेछौँ ,’ उनले भने । राहत वितरण सकिएलगत्तै पुनर्निर्माणको काम सुरु गरिने उनले बताए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो । भूकम्पमा हालसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

१३९ पटक हेरीएको

सम्बन्धित समाचार